पौवादुङमाको दोश्रो चाैमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


  1. भोजपुर, १५ जेठ ।
    सुशासन कायम गर्न सञ्चालन भएका योजना, कार्यक्रम तथा हालसम्मको प्रगतिको बारेमा जानकारी गराउने लक्ष्यले भोजपुरको पौवादुङमा गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।कार्यक्रममार्फत यो आर्थिक वर्षको दोश्रो चौमासिक अवधिसम्म भएका कामको विषयमा जानकारी दिइएको हो ।
    गाउँपालिकाले सञ्चालित योजनाहरुलाई वर्षात समय अघिनै सम्पन्न गराउने लक्ष्यका साथ योजना तथा कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । हालसम्म कुल ६० प्रतिशत योजनाको काम सम्पन्न भएर भुक्तानी भईसकेको उहाँको भनाइ छ । अन्य योजनाहरु पनि सम्पन्न हुने अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।


जनताका विकासको अपेक्षालाई पुरा गर्ने उद्धेश्यका साथ गाउँपालिकाले आफ्नो गतिविधि अघि बढाएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । गाउँपालिकाले सुशासन र पारदर्शितामा ध्यान दिदै सरकारको नीति अनुसार एक आर्थिक वर्षमा अनिवार्य तीन वटा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।


“हामीले जनतालाई यहाँ भएका कामलाई जानकारी दिनुपर्ने नीतिगत व्यवस्था छ” अध्यक्ष राईले भन्नुभयो,“यहाँ भएका कार्यक्रमलाई पारदर्शितासँगै जवाफ देहिता कायम गर्न हामीले नियमित रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिरहेका छौँ । जनतका सुझावलाई आधार बनाएर योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।”
स्थानीयले उठाएका सवालहरुको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष ज्योत्सना राई, प्रमुख प्रशासकीय अधिकृत वडाध्यक्षलगायतको जवाफ दिएका छन् ।


विहिबार नै गणतन्त्र दिवसको अवसरमा श्रमदानमार्फत भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र च्याङ्ग्रे पोखरी र कोटगढीको सरसफाई गरिएको छ । गाउँपालिकाको पहलमा भएको श्रमदान कार्यक्रममा स्थानीयबासी,  गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो  । गणतन्त्र दिवसलाई औपचारिक कार्यक्रमसँगै श्रमदानमार्फत पर्यटकीय क्षेत्रको सरसफाई गरेर मनाइएको उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार