रामप्रसादराई गाउँपालिकाले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै, सहजरुपमा सेवा पाउदा नागरिक हर्षित


भोजपुर, १३ माघ । यहाँको रामप्रसादराई गाँउपालिकाले वडास्तरबाट भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन बृद्धबृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो । सहज रुपमा भत्ता पाएपछि बृद्धबृद्धा तथा असक्त नागरिकहरु खुसी भएका छन् । वडा नं ७ बासीखोराका ८२ वर्षीय बृद्ध जागिरधन राईले आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा हर्षित भएको बताए । भत्ता लिन गाउँपालिका केन्द्रसम्म पुग्न धेरै सास्ती हुने गरेको उनको भनाइ छ ।

‘‘वडाबाट नै भक्ता पाउदा अति नै खुसी लागको छ’’ बृद्ध राईले भने,‘‘बुढेशकालको ज्यान हिडेर जान समस्या छ । गाडीमा जादापनि धेरै खर्च हुन्थ्यो । गाउँपालिकाबाट सरहरु आएर यहि भत्ता दिनुभयो । अहिले धेरै सहज भएको छ।’’ जनप्रतिनिहरु आफै आएर आफ्ना दुःख पिडा सुन्दै हातमा भत्ता राखिदिएको भन्दै ७७ बर्षिया बृद्ध चेलीमाया राईले खुसी प्रकट गरिन। गाउँपालिकाले बृद्धबृद्धा तथा असक्तहरुको सेवा पुग्ने गरी काम गरेको उनको भनाइ छ ।

‘‘वृद्धाभत्ता बुढेस कालको सहरा बनेको छ’’उनले भनिन्, ‘‘तर यो भत्ता लिन जान नै असाधै गाह्रो थियो । गाउँपालिकाले अहिले घर नजिकै आएर दिँदा खुसी लाग्यो । उहाँहरुले हामी जस्ता बृद्धका लागि पुण्यको काम गर्नु भएको छ ।’’ गाउँपालिकाले घुम्ती शिविर मार्फत टोलका मानिसहरु भेला गरेर वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । खास गरेर सामाजिक सुरक्षा भत्ता लिन सहजता थप्नको लागि यस्तो कामको थालनी गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राई (निर्माण)ले बताए । अभियान अन्तर्गत गाउँपालिका भरिका सामाजिक सुरक्ष भत्ता पाउने सम्पूर्ण एक हजार नौ सय तीन जनालाई भत्ता वितरण गरिने उनको भनाइ छ ।

‘‘यहाँका जेष्ठ नागरिक तथा अशक्त नागरिकलाई लक्षित गरेर सेवा दिइरहेका छौँ’’ अध्यक्ष राईले भने,‘‘हेर्दा ठुलो काम जस्तो नदेखिए पनि जनतालाई लाभ पुगेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकबाट भत्ता वितरण गर्दा उहाँहरुलाई समस्या भएको देखेर अहिले वडा कार्यालयबाट वितरण थालेका हौँ । ज्येष्ठ नागरिक तथा अशक्तलाई बैंकसम्म आउन अत्यन्तै समस्या थियो ।’’

सरकारले राहतको रुपमा दिएको सामाजिक सुरक्षा भत्ता लिन आउदा समस्या भएको गुनासो आफुसम्म आएपछि कार्यपालिका बैठकबाट निर्णय पारित गरेर कामको थालनी गरेको राईले बताए । बुधबारबाट शुरु भएको वितरण कार्य माघ १९ गतेसम्म सञ्चालन हुने छ । वडास्तरमा नै खाता खोल्ने कामसमेत भईरहेको उनले जानकारी दिनुभयो ।

‘‘स्थानीय सरकारले जनतालाई सहज रुपमा सेवा पु¥याउने हो’’ अध्यक्ष राईले भने, ‘‘मैले निर्वाचनको बेला पनि सेवालाई वडाबाट सञ्चालन गर्ने प्रतिवद्धता जनाएको थिए । हामीले नागरिकलाई सास्तीे नहोस् भनेर योजनाको सम्झौता पनि वडा÷वडामा पुगेर नै सम्झौता गरेका छौँ ।’’

नागरिकहरुको गुनासो सुनेर सोहि अनुसार काम गर्नको लागि सम्पूर्ण वडामा कल सेन्टर सञ्चालनको लागि काम गर्ने योजना रहेकोसमेत अध्यक्ष राईले बताए ।‘‘गाउँपालिकाको सूचना प्रणालीलाई प्रभावकारी बनाउने मेरो लक्ष्य छ’’ उनले भने,‘‘ नागरिककोहरुको गुनासो तथा सुझाब संकलनको लागि कल सेन्टर सञ्चालनको लागि काम गरिरहेका छौँ ।’’

घर पायकमै भत्ता पाउदा आफुलाई स्थानीय सरकार भएको अनुभूति भएको स्थानीयबासी ९० वर्षिय बृद्ध भागिमान राईले बताए । परिवारका सदस्यको साहरामा गाउँपालिकासम्म पुग्दा धेरै समस्या भोगेको उनले दुखेसो सुनाए । वर्षात समयमा सवै ठाउँमा सवारी साधन नपुग्ने भएकोले धेरै समस्या हुने उनको भनाइ छ । ‘‘आफ्नै ठाउँबाट भत्ता लिन पाउदा साह्रै हर्षित छु’’ उनले,‘‘स्थानीय सरकारले हाम्रो पिडा बुझेकोे अनुभूति भएको छ । यस्तो राम्रो काम गर्ने सवैलाई आर्शिवाद दिन्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार