जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरद्धारा संक्रमितलाई आयुर्वेदिक औषधी वितरण


भोजपुर, २८ जेठ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जिल्ला कोभिड अस्पताल तथा विभिन्न होम आईशोलेसनमा रहेका व्यक्तिहरुलाई आयुर्वेदिक औषधी वितरण गरेको छ । कोरोना भाइरस कोभिड–१९ संक्रमणलाई फैलिन नदिन लक्ष्य साथ च्यवनप्राश, अश्वरगन्धा चूर्ण, गुर्जाे लगायत आयुर्वेदिक औषधी वितरण गरिएको हो ।आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जिल्लाका विभिन्न ठाउँमा रहेका आईशोलेसनमा पुगेर आयुर्वेदिक औषधी वितरण गरेको कार्यालयले जनाएको छ । आयुर्वेदिकको औषधी नियमित सेवनल रोगसंग लड्ने क्षमतामा बढ्ने केन्द्रको भनाइ छ । हालसम्म भोजपुुरको कोभिड अस्पताल रामप्रसादराई गाउँपालिका, भोजपुर नगरपालिका र जिल्ला अस्पतालमा आईशोलेशनमा रहेकाहरुमा औषधी वितरण भइसकेको र अन्य स्थानीय नागरिकलाई समेत वितरण गरिने योजना रहेको आयुर्वेदन केन्द्रका सूचना अधिकारी दिलिप कुमार झाले जानकारी दिए ।

झाले भने,‘‘ जिल्लामा संक्रमितको संख्या बढिरहेको छ । आयुर्वेदिक औषधीले रोगसँग लड्ने क्षमता विकास गर्छ । जिल्लाका सबै संक्रमितलाई औषधी वितरण गर्ने लक्ष्य छ ।’’ कोरोना संक्रमित विरामीहरुको लागि आयुर्वेदिक औषधीको प्रयोगले प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले यसको प्रयोग उपयोगी रहेको चिकित्सकले जनाएका छन् । संक्रमण दर दिनप्रतिदिन वढी रहेकाले अत्यावश्यक काम बाहेक घर बाहिर हिडडुल नगर्न जिल्ला अस्पताल भोजपुरका प्रमुख फिपराज विश्वकर्माले आग्रह गरे ।

आयुर्वेदिक औषधी सबैको लागि उपयोगी भएकाले यसलाई प्राथामिकतामा राखेर वितरण गर्नु पर्ने जिल्ला समन्वय समिति भोजपुरले जनाएको छ । यस्ता औषधी खरिद तथा वितरणमा प्रदेश तथा केन्द्र सरकारले प्रामिकतामा राखेर काम गर्नु पर्ने जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले बताए । १५४ थान विभिन्न खालका प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जनाएको छ । शुक्रबारसम्म भोजपुरमा संक्रमितको संख्या ५५६ पुगेको छ भने २३९ जना निको भएर फर्केका छन् । जिल्लामा कोरोना कारण तीन जनाको मृत्यु भएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार