
सिन्धुपाल्चोक, ५ साउन। सिन्धुपाल्चोकलगायत देशभर नै पछिल्लो केही वर्ष यता सडक खन्ने लहर नै चल्यो,गाउँमा सडक लैजाने धोको पूरा गर्न आफ्नो खेतबारी सबै सडकलाई दिने जिल्लामा मात्रै सयांै छन् । सडकलाई जग्गा दिए पनि सडकमा परेको जग्गा अहिले पनि व्यक्तिको नाममा नै छ र त्यसको तिरो नियमित रूपमा जग्गाधनीले नै तिर्दै आएका छन् ।
मुख्य राजमार्गबाहेक जिल्लामा अहिले ३ हजार बढी किलोमिटर सडक खनिएका छन् । यी सडक खन्दै गर्दा कतै पनि मुआब्जा दिएर खनिएको छैन । व्यक्तिको जग्गामा नै सडक खनिएको छ, कतिको त सडकले गर्दा उठीबास नै लगाएका उदाहरण धेरै भए पनि सम्पत्ति कागजमा मात्रै देखिएको छ ।
बाह्रबिसे नगरपालिका–९ का शिवप्रसाद पौडेलको घर नजिकैबाट सडक खनिएको छ । गाउँमा सडक ल्याउने हुटहुटीले स्वैच्छिक रूपमा सडक लैजान पौडेलले जग्गा दिए । अहिले घर छेउबाटै यातयातका साधन चल्छन्, सडक पनि बन्यो, तर पौडेलले सडकलाई दिएको जग्गाको तिरो अहिले पनि तिर्दै आएका छन् ।
सुनकोसी गाउँपालिका–६ थुम्पाखर टिमुरेका कर्णबहादुर थापाले केही वर्षअघि १ लाख रुपैयाँमा खरिद गरेको एक पाथी धानको बीउ लाग्ने खेत सडक खन्दा एक टुक्रा पनि बाँकी रहेन, सबै सडकमा नै गयो । एक लाखमा खरिद गरेको खेतको लालपुर्जा त थापाकै नाममा छ तर खेत सबै सडकमा परेपछि अहिले उनीसँग खेत छैन तर त्यही खेतको तिरोचाहिँ थापाले तिरी नै रहेका छन् । लिसंखुपाखर गाउँपालिका–७ मेसिपाका दीपबहादुर ठकुरीको अवस्था पनि अरूको जस्तै छ, सडकमा बारी गयो, लालपुर्जा आफ्नै नाममा छ, बारी छैन तर त्यो बारीको नियमित तिरो उनले पनि तिरिरहेका नै छन् ।
यी प्रतिनिधि उदाहरण मात्रै हुन् यसरी सडक खन्दा आफ्नो जग्गा पर्ने जिल्लाका सयांै छन् । जग्गा पनि छैन तर जग्गाको सरकारलाई तिर्नुपर्ने तिरोचाहिँ सडकको नाममा भएको जग्गाको पनि स्थानीयले तिर्न बाध्य भइरहेका छन् ।
वर्षौदेखि उपभोग नगरेको जग्गाको वार्षिक कर खरिद बिक्री गर्दा लाभ करसमेत स्थानीयले हरेक वर्ष तिर्नुपरेको छ । कतिपयले भने सडकमा परेको जग्गाको समेत मूल्यांकन गरेर बैंकबाट ऋण कारोबार गरिरहेका तथ्यांक पनि जिल्लामा धेरै छन् । अहिले राजीखुसीले सडक खन्न दिए पनि बाटो विस्तार हँुदै जाँदा पछि समस्या हुन सक्ने लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताए ।






















