तुलसीपुर, १० साउन । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत वर्षको तुलनामा आर्थिक वर्ष २०७५÷७६ मा ९ दशमलव २५ प्रतिशतले राजस्व असुलीमा वृद्धि भएको जनाएको छ ।
आर्थिक वर्ष २०७४÷७५ लाई तुलना गर्दा आर्थिक वर्ष २०७५÷७६ मा १९ करोड ८२ लाख १८ हजार रुपैयाँले बढी राजस्व असुली भएको कार्यालयका सुचना अधिकारी लक्ष्मणसिंह श्रेष्ठले जानकारी दिए ।अघिल्लो वर्ष १ अर्ब ९४ करोड ३४ लाख २९ हजार राजस्व असुली गरेको कार्यालयले भर्खरै सम्पन्न आर्थिक वर्षमा २ अर्ब १४ करोड १६ लाख ४७ हजार रुपैयाँ असुली गरेको थियो । सूचना अधिकारी श्रेष्ठका अनुसार यो वर्ष आयकरतर्फ १ अर्ब १४ करोड ५२ लाख ४१ हजार लक्ष्य लिएकोमा ९७ करोड ७४ लाख ६ हजार असुली भएको छ ।
त्यसैगरी, घरबहाल करमा ६० लाख ३८ हजार ३ सय, ब्याज करमा २ करोड २८ लाख ४३ हजार, मूल्य अभिवृद्धि करमा ६६ करोड, ५६ लाख ५१ हजार, अन्तशुल्कतर्फ ४० करोड ९८ लाख २० हजार, स्वास्थ्य सेवा करतर्फ २८ लाख ६४ हजार र शिक्षा सेवा करतर्फ ९३ लाख ३९ हजार राजस्व असुली भएको छ । राजस्व असुलीमा वृद्धि भए पनि लक्ष्यभन्दा कम असुली भएको देखिन्छ ।
आन्तरिक राजस्व कार्यालयले २ अर्ब २१ करोग ३५ लाख राजस्व उठाउने लक्ष्य लिएको थियो । घर बहालकर, स्वास्थ्य र शिक्षामा लिँदै आएको कर, स्थानीय तहलाई जिम्मा दिएपछि लक्ष्यमा पुग्न नसकिएको कार्यालयले जनाएको छ । यता कार्यालयले भने व्यवसायीको कारोबारमा वृद्धि, बक्यौता असुली, बजार अनुगमनका कारण राजस्व असुलीमा वृद्धि भएको जनाएको छ ।
‘तुलसीपुर र घोराही बजारलाई छोडेर बजार अनुगमण गर्ने चलन रहेछ,’ प्रमुख कर अधिकृत लीलाप्रसाद शर्माले भने, ‘म आएपछि अनुगमणलाई तुलसीपुर र घोराही केन्द्रीय गरियो, कर्मचारीको पनि सक्रीयता बढ्यो फलस्वरूप परिणाम पनि राम्रै देखियो ।’
दरबन्दीअनुसार कर्मचारी नहुँदा केही समस्या भएको भन्दै पर्याप्तमा मात्रामा कर्मचारी भएमा कर असुली दरलाई तीव्र पारिने प्रमुख कर अधिकृत शर्माले बताए । दाङसहित सल्यान, रोल्पा, रुकुम र प्युठानका क्षेत्रका करिब ८० हजार करदाता रहेको कार्यालयले बताएको छ ।






















