
पोखरा, २ साउन । गोरखाको गण्डकी गाउँपालिका–७ घ्यालचोक निवासी १९ वर्षीया अनु परियार यतिबेला प्रहरीको हिरासतमा छिन । उनीसँगै अन्य चार अभियुक्त पनि पक्राउ परेका छन ।
नातामा भिनाजु पर्ने रमेश नेपालीसँगको प्रेम सम्बन्धलाई पत्नीको रुप दिन २७ वर्षीया दिदी लक्ष्मी नेपालीको हत्यामा संलग्न भएको कारण अनुसहित मृतकका श्रीमान रमेश, भोजपुर नगरपालिका–५ बैंकरोड घर भई हाल पोखरा–९ महेन्द्रपुल बस्दै आएका ३२ वर्षका सञ्जय शर्मा, सर्लाहीको ईश्वरपुर नगरपालिका–३ घर भई हाल पृथ्वीचोक बस्ने २६ वर्षीय चितरञ्जन कुमार साह पक्राउ परेका छन । उनीहरु सवैलाई आजै कास्की प्रहरीले सार्वजनिक गरेको छ ।
दिदीको हत्या गरेर भिनाजुको जोई बन्ने चाहनाको कारण यतिबेला उनी भिनाजुसँगै हिरासतमा पुगेकी हुन । पोखरा महानगरपालिका–१५ कान्तिपुर चोकमा बस्दै आएका दिदी लक्ष्मीलाई मार्न भिनाजु रमेशलाई अनुले नै उक्साएको र हत्या योजना बनाइएको तथ्य प्रहरीले बाहिर ल्याएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० दानबहादुर कार्कीका अनुसार एक वर्षदेखि साली अनुसँग प्रेम सम्बन्धमा रहेका रमेशले आफ्ना साथीसहित भारतीय नागरिक प्रयोग गरी पत्नी लक्ष्मीको हत्या गरेको र सो काममा अनुसमेत संलग्न रहेको पाइएको छ । लक्ष्मी हराएको २५ दिनपछि उनको कंकाल पोखरा महानगरपालिका–२२ स्थित कर्कलेको जंगलमा भेटिएको थियो । साली भित्र्याउन लक्ष्मीका श्रीमान रमेशले नै खुट्टाको एलर्जीको जडिबुटी जंगलमा पाइने बताएर कर्कले जंगलमा पुर्याई हत्या गरेका थिए ।
रमेशले लामो योजना र तयारीका साथ पोखरामै मोवाइल व्यवसाय गर्ने आफ्ना साथीहरुको सल्लाहमा एउटा कार र स्कुटर भाडामा लिएर श्रीमती लक्ष्मीको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार लक्ष्मीको हत्या गरेको दुईदिनपछि श्रीमान रमेशले नै प्रहरीमा उजुरी गरेका थिए । गत असार १ गते लक्ष्मीको हत्या भएपछि रमेशले भोलिपल्टै पत्नीको खोजी गरिदिन भन्दै वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका हुन । श्रीमती लक्ष्मीले १ लाख ५० हजार लिएर घरबाट हिँडेको जनार्य रमेशले उजुरी दिएका थिए ।






















