
काठमाडौं, ३० असार । नेपाली कांग्रेसले राजनैतिक पूर्वाग्रह त्यागेर बाढी पहिरो प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका सबै सदस्यहरुलाई निर्देशन दिएको छ । कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्यमा सरकारले गरेको कामको अनुगमन पनि गर्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गरी पीडामा परेकाहरुको सेवामा समर्पित हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह(पूर्वाग्रह भन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी(दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो ।’
यसअघि कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले उद्धार र राहतमा समर्पित हुने निर्णय गरेको जानकारी देउवाले दिएका छन् । ‘प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रुपले उद्धार र राहतमा समर्पित हुने निर्णय हामीले गरेका छौं,’ विज्ञप्तिमा लेखिएको छ ।
कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्यमा सरकारले गरेको कामको अनुगमन पनि गर्ने भएको छ । ‘प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ त्यसको अनुगमनसमेत प्रमुख प्रतिपक्षी दलका नाताले नेपाली कांग्रेसले गर्ने जानकारी पनि गराउँदछु,’ देउवाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
कांग्रेसले अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरुको आत्माको चिर शान्तिको कामना गरेको छ






















