
खोटाङ, २३ असार । श्रीमतीलाई जलाएर हत्या गरेको अभियोगमा कैंद भोगीरहेका केपिलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राईले गएराति झुण्डिएर आत्महत्या गरेका छन् ।
राति अबेरसम्म समूहमा नदेखिएपछि खोजी गर्दा कारागारभित्रै रहेको प्रयोग विहिन शौचालयमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला कारागार खोटाङका प्रमुख चित्राखर आचार्यले बताउनुभयो ।श्रीमती सुस्माको हत्या गरेर जलाएको अभियोगमा सर्वोच्च अदालतबाटै दोषी ठहराइएका सुदिप २० वर्षका लागि कारागार चलान भएका थिए । घटनाका विषयमा मृतकको आफन्तलाई खबर गरेर शव परीक्षण गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताउनुभयो । वि.सं २०७१ साल माघ २ गते राति आगलागीमा परी मृत्यु भएको भनिएकी सुस्माको ‘हत्यापछि जलाइएको’ भन्ने खुलासा भएपछि सुदीपलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको थियो । अपराध ढाकछोप गर्नका लागि उनले श्रीमतीको हत्यापछि आफ्नै घरमा आगो लगाएर ‘जलेर मृत्यु भएको बनाएको’ प्रहरीको दाबी थियो ।कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालत पुग्दा समेत सुदिप दोषी सावित भएपछि उनलाई जेल पठाइएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका सुदीप घटनाभन्दा दुई साताअघि मात्र विदेशबाट घर आएका थिए ।
घर आएपछि श्रीमती सुस्माको पेटमा रहेको गर्भको विषयमा विवाद हुँदा घटना भएको स्थानीयवासीको अनुमान छ । उसबेला आगलागी भएको गोठमा डढेको अवस्थामा भेटिएकी सुस्माको शव परीक्षण गर्दा चार महिनाको गर्भ रहेको देखिएको थियो ।लामो समयपछि विदेशबाट घर फर्कदा श्रीमती गर्भवती भएको थाहा पाएपछि आवेशमा आएर उनले श्रीमतीको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । सुदिप विदेशमा रहेको अवस्थामा सुस्मासँग अवैध सम्वन्ध राखेको आशंकामा स्थानीय एक युवा पनि अनुसन्धानमा तानिएका थिए ।






















