जुम्ला, १७ असार । जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष २०७६र०७७ को बजेट सार्वजनिक गरेको छैन । असार १० मा नगरसभाबाट नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी थियो ।
तर नगरकार्यपालिकाका बहुमत सदस्यले सभा बहिस्कार गरे बजेट आउन सकेन । १५ गतेका लागि तोकिएको नगर सभा पनि एक्कासी स्थगित भएपछि नगर सभा अझै अनिश्चित भएको हो ।उपप्रमुख अप्सरा देवी न्यौपाने सहित महुमत सदस्यहरुले नीति तथा कार्यक्रम ल्याउनु पुर्व चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई गर्नुपर्ने माग गरेका छन् । सार्वजनिक सुनुवाई नभएसम्म बजेट ल्याउन नदिने उनीहरुको अडान छ ।
सार्वजानिक सुनुवाई ऐन २०५५ र नियमावली २०५६ अनुसार सरकारी तथा गैरसरकारी निकायले अनिवार्य रुपमा सार्वजानिक सुनुवाई गर्नुपर्ने प्राबधान छ । तर नरपालिकाले आर्थिक वर्ष २०७४र७५ को सार्वजानिक सुनुवाई तथा आर्थिक वर्ष २०७५र७६ को समिक्षा गर्नुपर्ने माग सहित पाँच दिनका लागि नगरसभा रोकिएको थियो । तर विवाद समाधान नहुँदा नगरसभा नै अनिश्चित बनेको छ ।
संविधान अनुसार असार १० गतेभित्र गाउँ तथा नगरसभा सम्पन्न भइसक्नुपर्ने हो । असार १० गतेको नगरसभा बहुमत सदस्यले बहिस्कार गरेपछि असार १५ मा तोकिएको थियो । तर सहमति हुन नसकेपछि पुन अर्को सुचना नआउन्जेलसम्मको लागि नगरसभा स्थगित भएको जानकारी गराइयो ।खर्चका सत्य तथ्य श्रेस्ता नभेटिएकोले अन्नतः नगरसभा स्थगित गर्नु परेको प्रमुख कान्तिका सेजुवालले जानकारी दिइन् । उनका अनुसार तत्कालिन लेखा अधिकृत तिल बहादुर डाँगी सरुवा भएको र खर्च विवरण नभेटिएकोले सार्वजानिक सुनुवाई हुन नसकेको हो । लेखा अधिकृत डाँगी फोन गर्दा उठाउँदैनन् ।
चालु आर्थिक वर्षमा सम्पन्न योजना शिर्षकमा खर्च विवरण नभेटिएको बुझिएको छ । सार्वजनिक सुनुवाईको माग गरिरहेका पक्षको पनि ति योजनाहरुमा व्यापक अनियमितता भएको आंशका छ । हालका अनगरपालिका लेखापाल पुर्ण ठकुरीका अनुसार बरबुझारथ नगरी गएकोले कुनै पनि खर्च विवरण आफुलाई थाहा नभएको बताउँछन् । सार्वजानिक सुनुवाई नभए सम्म नगरसभा चल्न नदिने कार्यपालिका सदस्यहरुको चेतावनीले चन्दननाथको नगरसभा अनिश्चिकालिन रुपमा स्थगित भएको छ ।






















