पौवादुङमामा सञ्चालित ‘विराट ज्ञानमहायज्ञ’को आय–व्यय सार्वजनिक


भोजपुर, २१ बैशाख।

भोजपुरको पौवादुङमा गाउँपालिकामा पञ्चकन्या मन्दिर निर्माणका लागि सञ्चालन गरिएको ‘विराट ज्ञानमहायज्ञ तथा पौवादुङमा सांस्कृतिक महोत्सव–२०८३’मार्फत रु.१ करोडभन्दा बढी रकम संकलन भएको छ।

बैशाख ९ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको उक्त धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आय–व्यय सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। कार्यक्रमबाट हालसम्म रु.१ करोड ७ हजार ४८७ संकलन भएको जानकारी दिइएको छ।

ज्ञानमहायज्ञ मूल समारोह समितिका संयोजक सन्तोष कोइरालाका अनुसार संकलित रकममध्ये रु.२४ लाख ३८ हजार ८२ खर्च भएको छ । खर्च मुख्यतः व्यवस्थापन, धार्मिक अनुष्ठान सञ्चालन, अतिथि सत्कार, मञ्च व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा गरिएको जनाइएको छ।

कुल रकम मध्ये दाताहरूले कबोल गरेको थप रु.२१ लाख ७६ हजार १६४ रकम उठ्न बाँकी रहेको संयोजक कोइरालाले जानकारी दिनुभयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार मन्दिर निर्माणका लागि अनुमानित कुल लागत करिब रु.१ करोड ८३ लाख ८४८ रहेको छ। हालसम्मको संकलनबाट करिब ४१ प्रतिशत रकम जुटाउन सफलता मिलेको बताइएको छ। उहाँका अनुसार मन्दिर निर्माणका लागि सहयोग आउने क्रम अझै जारी रहेको छ।

गाउँपालिका अध्यक्ष किरण राईले महायज्ञमार्फत प्राप्त सहयोगलाई पारदर्शी रूपमा व्यवस्थापन गर्न विशेष ध्यान दिइएको बताउँदै दाताहरूले दिएको सहयोग रकम वेबसाइटमार्फत सार्वजनिक रूपमा हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो। “हामीले पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेका छौं । जसले दाताहरूमा विश्वास बढाउनेछ,” उहाँले भन्नुभयो।

अध्यक्ष राईका अनुसार पञ्चकन्या देवीसँग जोडिएको धार्मिक आस्था, स्थानीय इतिहास र सांस्कृतिक महत्वलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मन्दिर निर्माणको योजना अघि बढाइएको हो। भविष्यमा यस स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत लिइएको उहाँको भनाइ छ।

निर्माण गरिने मन्दिर गजुरसहित करिब ३१ फिट अग्लो हुने जनाइएको छ। मन्दिरलाई परम्परागत पुरातात्विक शैलीमा निर्माण गरिनेछ भने छानो तामाले ढाकिने योजना रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार