
भोजपुर, १७ चैत ।
भोजपुरको बोखिम स्थित पञ्चकन्या माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरी हस्तान्तरण गरिएको छ। उक्त विद्यालयमा प्रारम्भिक शिक्षा हासिल गरेका डा. नरहाङ तामाङ र तिर्थराज योञ्जन (तामाङ)ले आफ्नो परिवारको तर्फबाट स्वर्गीय आपा नरबहादुर तामाङ तथा जीवित सितामाया तामाङको संयुक्त नाममा रु १ लाख १ हजार १ सय ११ रकमको अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो।

स्थापित अक्षयकोषबाट विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दै उत्कृष्टता प्रोत्साहन गर्ने र समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य अक्षयकोष राखिएको तीर्थराज योञ्जनले जानकारी दिनुभयो । कार्यक्रमका क्रममा विद्यालयका विद्यार्थीहरूलाई बिस्कुटसमेत वितरण गरिएको थियो।
आफ्नो बाल्यकालको शिक्षा प्राप्त गरेको विद्यालयप्रति कृतज्ञता व्यक्त गर्दै दाताहरूले शिक्षाको गुणस्तर सुधारमा सानो योगदान पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताएका छन्। स्थानीयस्तरमा यस्ता सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधारमा थप टेवा पुग्ने विश्वास गरिएको छ।


















