भोजपुरमा आँखाका रोगीको खोजी गर्दै ‘नेपाल नेत्र ज्योति संघ’


भोजपुर, १० पुस । भोजपुरका ग्रामीण क्षेत्रमा बढ्दै गएका विभिन्न आँखासम्बन्धी रोगको पहिचान र उपचारका लागि नेपाल नेत्र ज्योति संघले बृहत् खोजी अभियान सञ्चालन गर्ने भएको छ । मानविय जीवनशैलीमा आएको परिवर्तन, चेतनाको कमी तथा समयमै उपचार नपाउँदा ग्रामीण भेगमा आँखाका समस्या बढ्दै गएपछि संघले समुदायस्तरमै पुगेर सेवा दिने लक्ष्यसहित अभियान सुरु गर्न लागेको हो ।

नेपाल नेत्र ज्योति संघ भोजपुर शाखाका कार्यबाहक सभापती सम्झना प्रधानका अनुसार जिल्लाका सबै ९ वटै स्थानीय तहमा समुदायस्तरमै पुगेर आँखा रोगीको खोजी तथा उपचार अभियान सञ्चालन गरिनेछ । अभियान यही आइतबारदेखी टेम्केमैयुङ गाउँपालिकाबाट सुरु हुने उहाँले जानकारी दिनुभयो।
“ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै आँखा उपचार सेवा पु¥याउने उद्देश्यले यो अभियान सञ्चालन गरिरहेका छौँ,” उहाँले भन्नुभयो,“अभियानअन्तर्गत वडास्तरसम्म पुगेर आँखा परीक्षण गरिनेछ । सामान्य समस्या भएका नागरिकलाई निःशुल्क चस्मा र औषधि वितरण गरिनेछ भने यहाँ उपचार सम्भव नहुने बिरामीलाई विराटनगर आँखा अस्पतालमा रेफर गरिनेछ ।”

हाल सञ्चालनमा रहेको अभियानमार्फत सबै स्थानीय तहका ४० वर्षमाथिका नागरिक तथा सबै विद्यालयका बालबालिकाको आँखाको परीक्षण, खोजी र आवश्यक उपचार गरिने सभापती प्रधानले जानकारी दिनुभयो । भोजपुर आँखा तथा कान उपचार केन्द्रका प्रमुख विजय तामाङका अनुसार परीक्षणका क्रममा फेला परेका बिरामीलाई भौगोलिक पहुँचका आधारमा उपचारको व्यवस्था मिलाइएको छ । सदरमुकाम आसपासका नागरिकलाई भोजपुर आँखा तथा कान उपचार केन्द्र, दक्षिणी क्षेत्रका नागरिकलाई हतुवागढी, उत्तरी क्षेत्रका नागरिकलाई दिङ्ला र पूर्वी क्षेत्रका नागरिकलाई अरुण गाउँपालिकामा रहेको आँखा उपचार केन्द्रमार्फत सेवा प्रदान गरिनेछ ।

“अभियानअन्तर्गत आँखासम्बन्धी रोगको पहिचान, उपचारसँगै सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिनेछ,” तामाङले भन्नुभयो, “जिल्लाभित्र चारवटा आँखा उपचार केन्द्रलाई रेफरल सेन्टरका रूपमा तोकिएको छ । शल्यक्रिया आवश्यक परेमा पायक पर्ने स्थानमै शिविर आयोजना गरेर सेवा दिने लक्ष्य राखेका छौँ ।”
अभियानमार्फत शिक्षक, विद्यार्थी तथा स्वास्थ्य स्वयंसेविकालाई आँखाको रोग, रोकथाम तथा बच्ने उपायका विषयमा आवश्यक ज्ञान प्रदान गरिने लाहान आँखा तथा कान उपचार प्रणालीका कार्यक्रम संयोजक सुरक्षा पौडेलले जानकारी दिनुभयो । लक्षित वर्गको कार्यक्रम सम्पन्न भएपछि श्रमिक वर्गलाई पनि सेवा विस्तार गरिने उहाँले जानकारी दिनुभयो । पूर्ण दृष्टिविहीन व्यक्तिहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने गरी सीपमूलक तालिम प्रदान गर्ने योजनासमेत रहेको छ ।
विराटनगर आँखा अस्पतालका अध्यक्ष पद्म नारायण चौधरीले आँखा उपचार सेवा घरदैलोमै पु¥याएर नागरिकलाई सहज सेवा दिने लक्ष्यसहित अभियानलाई बृहत् रूपमा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । अभियानका क्रममा फेला परेका जटिल शल्यक्रिया गर्नुपर्ने बिरामीलाई विराटनगर आँखा अस्पतालमा निःशुल्क उपचार गरिनेछ । आर्थिक रूपमा अत्यन्तै कमजोर नागरिकका लागि आवश्यकताअनुसार उपचार स्थलसम्म पुग्ने यातायात व्यवस्थासमेत मिलाइने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार