भोजपुरमा ६५ किलोमिटर दुरीमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुँदै


युवराज विष्ट
भोजपुर, २८ असोज ।
भोजपुरका तीन स्थानीय तहले संयुक्त रूपमा ‘मुन्दुम पदमार्ग अल्ट्रा ट्रेल रेस’ आयोजना गरेका छन्। मुन्दुम पदमार्गको प्रचार–प्रसार र साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित रामप्रसादराई, हतुवागढी र आमचोक गाउँपालिकाले प्रतियोगिता गर्न लागेका हुन्।
हतुवागढी ९ कोप्चेबाट सुरु हुने रेस आमचोकको बयाङ–थामडाँडा हुँदै रामप्रसादराई गाउँपालिकाको पामखाङ–भञ्याङ–कपासे–सेल्मे–पाँचधारे–तावाभञ्याङसम्म करिव ६५ किलोमिटरमा सञ्चालन हुनेछ ।
आगामी मंसिर २० देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे सोमबार आमचोक गाउँपालिकाको आयोजनामा बालङखामा संयुक्त बैठकसमेत सम्पन्न भएको छ।
बैठकमा कार्यक्रमलाई प्रभावकारी, सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा तीनै गाउँपालिकाबीच कार्ययोजना तयार गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो।
पर्यटन र खेलकुदलाई एकीकृत गर्दै सामुदायिक तथा साहसिक पर्यटन विकास गर्ने लक्ष्यसहित मुन्दुम अल्ट्रा ट्रेल रेस आयोजना गरिएको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो ।
करीब ६५ किलोमिटर दूरीमा सञ्चालन हुने यो प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका धावकहरूको सहभागिता रहने आमचोक गाउँपालिका अध्यक्ष असोक राईले जानकारी दिनुभयो। प्रतियोगिताले यहाँको मौलिक संस्कृति, स्थानीय परिकार र पहिचानलाई देश–विदेशमा चिनाउने अवसर मिल्ने उहाँको भनाइ छ ।
प्रतियोगिता सञ्चालनका लागि तीनै गाउँपालिकाले पाँच–पाँच लाख रुपैयाँका दरले जम्मा रु. १५ लाख बजेट विनियोजन गरेका छन्।
हाल ग्रेटर मुन्दुम पदमार्ग अन्तर्गत यी तीनै गाउँपालिकामा पदमार्ग निर्माण कार्य भइरहेको छ । पदमार्ग निर्माणले भविष्यमा भोजपुरलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने स्थानीय तहहरुले विश्वास लिएका छन् ।
वैठकमा हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौला, रामप्रसादराई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आङ्लाक्पा तामाङ र आमचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईलगायत सरोकारवाला पक्षको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार