
युवराज विष्ट
भोजपुर, २२ चैत ।
एखुवा खोला पक्की पुल निर्माणको काम सम्झौता अवधि भित्र सम्पन्न भएको छ । भोजपुरको हतुवागढी हसनपुर ९ र आमचोक गाउँपालिका ८ जोडने यो पुल कोशी प्रदेश सरकार अन्र्तगत पूर्वाधार विकास कार्यालय भोजपुरको रु.सात करोड ३७ लाख लागतमा निर्माण गरिएको हो । एक स्पानमा निर्माण भएको पुलको लम्बाई ३७ मिटर रहेको छ ।
वि.स. २०७९ चैतबाट निर्माण शुरु भएको यो पुलको निर्माण अवधि दुई वर्ष रहेको थियो । एखुवा खोला पक्की पुल निर्माण समय अवधि भित्र नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताउनुभयो । पुल निर्माण सम्पन्न भएपछि सवारी आवतजावत शुरुवात गरिएको छ ।
“एखुवा खोला पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ” प्रमुख रेड्डीले भन्नुभयो,“ “पुल सम्झौता अवधि भित्र नै निर्माण सम्पन्न भएको छ । स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहजता थपिएको अवस्था छ । पुलबाट सवारी आवतजावत सुरु भएको छ । ”
यो पुल ओपन फाउन्डेसन एक स्पानमा निर्माण गरिएको प्रादेशिक सडक, पुल आयोजना कोशी प्रदेशका संयोजक सूर्य नारायण चौधरीले बताउनुभयो । पुल गुणस्तरियढंगले निर्धारण गरिएको मापदण्ड अनुसार निर्माण भएको उहाँको भनाइ छ। खोलाको पानीको बहावलाई ख्याल गरेर पुल निर्माण गरिएको जनाइएको छ ।
पुल बनेपछि दक्षिण्ी क्षेत्रका नागरिकलाई आवतजावतमा सहजता भएको हतुवागढी ९ हसनपुरका वडाध्यक्ष सञ्जाल राईले बताउनुभयो । पुल निर्माण भएर सञ्चालनमा आएपछि यहाँका स्थानीयबासीको वर्षौदेखीको समस्या अन्त्य भएको उहाँको भनाइ छ । “यो खोलामा पुल बनेपछि स्थानीयको वषौँको समस्या अन्त्य भएको छ”वडाध्यक्ष राईले भन्नुभयो,“पुल नहुँदा धेरै जोखिम थियो। बाढी आएको बेला खोला पार गर्ने अवस्था थिएन। पुल निर्माणले हतुवागढी र आमचोक गाउँपालिकाका नागरिकलाई सहजता भएको छ ।”
वषौँबाट सास्ती भोग्दै आएको खोलामा पुल बनेपछि स्थानीयबासी खुसी भएका छन् । बाढी आएको समयमा खोलामा नै बास बस्नु पर्ने बाध्यता रहेकोमा पक्की पुल बनेपछि सहजता भएको स्थानीयबासी सन्तोषजंग राईले बताउनुभयो ।“यो खोलामा हाम्रो पालामा पुल बन्छ भन्ने साचेको थिइन्”उहाँले भन्नुभयो,“यो खोलामा पुल नभएको कारण धेरै समस्या रहेको थियो । अहिले पुल बनेर सञ्चालनमा आउँदा खुसी लागेको छ ।”
धेरै समस्याका बीच पनि पुललाई सम्झौता अवधि भित्र नै निर्माण सम्पन्न गर्न सफल भएको निर्माण कम्पनी राउत कन्ट्रसनका प्रमुख कुलबहादुर राउतले बताउनुभयो । भौगोलिक रुपमा विकटतासँगै उदयपुर र भोजपुरलाई जोड्ने दूधकोशीमा पुल नहुँदा सामग्री ढुवानीमा निकै समस्या भएको उहाँको भनाइ छ ।
“भौगोलिक रुपमा निकै विकट रहेकाले यहाँ पुल निर्माण गर्न धेरै चुनौति थियो”प्रमुख राउतले भन्नुभयो,“सवैको साथ सहयोगका कारण समयमा नै पुल निर्माण सम्पन्न गर्न सफल भएको छु । पुल तोकिएको मापदण्ड अनुसार निर्माण भएको छ ।”
पुल समयमा नै गुणस्तरियढंगले निर्माण गराउन नियमित अनुगमनसँगै कार्यालयको प्रत्यक्ष निगरानी भएको पूर्वाधार विकास कार्यालय भोजपुरका इन्जिनियर प्रशुराम शाहले बताउनुभयो ।
















