
युवराज विष्ट
भोजपुर,२८ माघ ।
भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘वृद्धिमुखी उद्यमशिलता र रोजगार प्रवर्धन कार्यक्रम’ शुरुआत भएको छ । उद्यमशिलताको विकाससँगै रोजगारी सिर्जना गर्ने लक्ष्यले जिल्लामा नै पहिलो पटक यो कार्यक्रम शुरुआत भएको हो ।
कोशी प्रदेश सरकार उद्योग, कृषि तथा शहकारी मन्त्रालय, पौवादुङमा गाउँपालिका र दायित्व संस्थाको त्रिपक्ष लागत साझेदारीमा पाइलट प्रोजेक्ट (नमूना परिक्षण कार्यक्रम)का रुपमा सञ्चालन गरिएको छ ।
कोशी प्रदेश सरकार उद्योग, कृषि तथा शहकारी मन्त्रालयको रु.४० लाख, गाउँपालिकाको रु. २० लाख र दायित्व संस्थाको रु. १५ लाख गरी कुल रु. ७५ लाख लागतका कार्यक्रम शुरु गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । यो कार्यक्रम अन्तर्गत उद्यमीहरुको छनोट, शसक्तीकरण,व्यावसायिकीकरण र बजारीकरणमा सहयोग गरिने उहाँले जानकारी दिनुभयो ।
“त्रिपक्ष लागत साझेदारीमा हाम्रो गाउँपालिकामा पहिलो पटक यो कार्यक्रम सञ्चालन गरेका छौँ” प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो,“यो कार्यक्रम अन्तर्गत यहाँका उद्यमीहरुको खोजी तथा पहिचान गरेर शसक्तीकरणसँगै व्यावसायिकीकरण र बजारीकरणको लागिसमेत प्रोत्साहन गरिने छ। ।”
प्रारम्भिक चरणमा ४० उद्यमी छनोट गरिने र त्यसबाट क्रमशः २० र दश गरेर उत्कृष्ट दश जना उद्यमीहरुलाई उद्यम प्रवर्धनका लागि आवश्यक सहयोग गरिने प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो ।
नमूना कार्यक्रमका रुपमा कोशी प्रदेशमा रहेका एक सय ३७ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहमा मात्र कार्यक्रम सञ्चालन भईरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।
यो कार्यक्रम भोजपुरको पौवादुङमा गाउँपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, इलामको फाक्फोकथुम गाउँपालिका, झापाको गौरादह नगरपालिका र सुनसरीको रामधुनी नगरपालिकामा मात्र पाइलट प्रोजेक्टका रुपमा सञ्चालन भईरहेको अध्यक्ष राईको भनाइ छ । प्रदेश सरकारले वृद्धिमूखी उद्यमशिलता र रोजगार प्रवर्धनका लागि प्राथमिकता साथ यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष राईले जानकारी दिनुभयो ।
“उद्यमशिलता र रोजगारी बृद्धिका लागि यो निकै महत्वपूर्ण कार्यक्रम छ” अध्यक्ष राईले भन्नुभयो,“जिल्लाका नौ वटा स्थानीय तहमध्ये यो वर्ष पौवादुङमा गाउँपालिका मात्र यो कार्यक्रम सुरुआत भएको छ । यसले यहाँका विभिन्न उद्यमसँग जोडिएकाहरुलाई आवश्यक सहयोग गर्नेछ ।”
यो कार्यक्रम एक वर्षसम्म सञ्चालन हुने जनाइएको छ । कार्यक्रम सञ्चालन तथा उद्यमीहरुलाई सहजीकरण गर्नको लागि दायित्व संस्थाका एक जना उद्यम अधिकृतले यहाँ नै बसेर सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।
यो कार्यक्रम अन्तर्गत, कृषि, पशुपालन, व्यापार,घरेलु उद्योगलगायतको प्रवर्धन तथा विकासको क्षेत्रमा काम गरिने गाउँपालिकाले जनाएको छ । छनोटमा परेका उद्यमीहरुलाई ५० प्रतिशत अनुदानमा मागको आधारमा प्रविधिसमेत हस्तान्तरण गरिने गाउँपालिकाको भनाइ छ ।