पौवादुङमामा ‘आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रम अन्तर्गत सुत्केरी र गर्भवतीलाई कुखुरा वितरण


युवराज विष्ट
भोजपुर, २२ माघ ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई कुखुरा वितरण गरेको छ । गर्भवती तथा सुत्केरी महिलाको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको हो ।


यो कार्यक्रम अन्तर्गत पौवादुङमाका छ वटै वडामा रहेका गर्भवती तथा सुत्केरी महिलाई एक ओटा भाले, दुई वटा पोथी कुखुरा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । यसरी वितरण गरिएको कुखुरालाई पालेर उनीहरुले आवश्यक रुपमा अण्डा, मासुको रुपमा प्रयोग गर्न सक्ने अध्यक्ष राईले बताउनुभयो । खास गरेर महिला र नवजात शिशुको पोषणको लागि यो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।
“गाउँपालिकाले ‘आफैँ पाल्दै आफै खादै’ कार्यक्रम सञ्चालन गरिरहेको छ’’ अध्यक्ष राईले भन्नुभयो,‘‘गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यसँगै पोषणलाई ख्याल गरेर कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यो कार्यक्रमले लक्षित समुहमा लाभ पुगेको छ ।”
गाउँपालिकाले महिला तथा शिशुको स्वास्थ्यलाई लक्षित गरेर यो कार्यक्रम नियमित रुपमा सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । विभिन्न प्रोत्साहनसँगै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएसँगै गाउँपालिकामा घरमा नै सुत्केरी हुने सङ्ख्या शुन्य रहेकोसमेत प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।
यो कार्यक्रम अन्तर्गत वर्षमा एक पटक कुखुरा वितरण गरिेने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । यसरी वितरण गरिएको पोथी भने उनीहरुले दुई वर्षसम्म पाल्नु पर्ने उहाँको भनाइ छ । महिलाहरुले प्रत्येक पटक स्वास्थ्य संस्थामा गर्भ जाँच गराएवापत एक क्यारेट अन्डासमेत वितरण भइरहेको उपाध्यक्ष राईले बताउनुभयो ।
“महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर हामीले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”उपाध्यक्ष राईले भन्नुभयो,“हामीले उहाँहरुको पोषणको क्षेत्रमा पनि जोड दिएका छौँ ।यसको मुख्य लक्ष्य नै आमा र शिशुको स्वास्थ्य राम्रो होस् भन्ने नै हो ।”

यो कार्यक्रम अन्तर्गत सोमबार पौवादुङमा ५ सानोदुम्माका १२ जना गर्भवती तथा सुत्केरी महिलालाई एक वटा भाले र दुई वटा अण्डा पारिरहेका पोथी वितरण गरिएको वडाध्यक्ष बोमप्रसाद राईले बताउनुभयो । उनीहरुलाई स्वास्थ्य संस्थामा बोलाएर स्वास्थ्य परीक्षणसँगै कुखुरा वितरण गरिएको उहाँको भनाइ छ ।
“हाम्रो वडाका १२ जना गर्भवती र सुत्केरी महिलालाई कुखुरा वितरण गरेका छौँ’ वडाध्यक्ष राईले भन्नुभयो, “कार्यक्रमले महिलाको पोषणको क्षेत्रमा सहजता थपेको छ । खास गरेर गरिव तथा आर्थिक रुपमा विपन्न परिवारलाई प्रत्येक्ष लाभ पुगेको अवस्था छ । ”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार