सङ्घीयता कार्यान्वयनसँगै फेरिएको भोजपुरको मुहार


युवराज विष्ट
भोजपुर, १४ पुस ।
देश संघीयतामा गएपश्चात भोजपुरमा विकासले गतिलिएको छ । विभिन्न कालखण्डमा छुट्टै पहिचान बनाएको भोजपुरले विकासमा भने सोचे अनुसारको फड्को मार्न सकेको थिएन । भोजपुर विभिन्न कारणले देशमा परिचित जिल्ला पनि हो । भोजपुरको चिनारी धेरै क्षेत्रबाट लिन सकिन्छ । पहिलो त यो जिल्ला खुकुरीका लागि प्रख्यात छ ।
त्योसँगै राणाकालमा नेपालभर चाहिने टक (डोली पैसा) छापिएको जिल्ला पनि हो । यहाँ विसं १८७२ सालमा भोजपुर नगरपालिका १२ टक्सारमा तामाको टक अर्थात मुद्रा छापिन्थ्यो । ती मुद्राहरु अहिले पनि भेट्न सकिन्छ । भोजपुर शिक्षाको क्षेत्रमा पनि अग्र स्थानमा रहेको जिल्ला हो । यहाँको दिङ्लामा आबाल ब्रह्मचारी षडानन्द अधिकारीले १९३२ सालमा नेपालकै पहिलो सस्कृत पाठशाला सञ्चालनमा ल्याउनु भएको थियो । त्यो समयमा देशका विभन्नि ठाउँ तथा भारतबाटसमेत अध्ययनको लागि मानिसहरु आउने गरेका थिए ।
सतिप्रथाको अन्त्यका लागि लड्ने क्रान्ति योदा योगमाया न्यौपानेको जन्मभूमि रुपमा पनि यो जिल्ला परिचित छ । विक्रम सम्वत १९१७ सालमा भोजपुरको षडानन्द नगरपालिका–१, नेपालेडाँडामा जन्मनु भएकी न्यौपानेले सतिप्रथाको विरुद्ध गरेको योगदान अतुलनिय छ । सतिप्रथा, छुवाछुत प्रथा अन्त्यको लागि आफ्नो अभियानको नारा लगाउँदै वि.स. १९९८ साल असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले मृत्युवरण गरेर क्रान्तीको शुरुवात गरिएको थियो । त्योसँगै राजनिति तथा निजामति सेवा पनि यहाँका मानिसहरुले उच्च तह प्राप्त गरिसकेका छन् । गणतन्त्र प्राप्तीपछि दुई पटक राष्ट्रपतिको जिम्मेवारी पनि भोजपुरकै विद्यादेवी भण्डारीले सम्हाल्नुभयो ।
देशको हर आन्दोलन तथा परिवर्तनमा भोजपुरले विभिन्न खालका योगदान पु¥याउदै आएको छ । थुप्रै ऐतिहासिक महत्व बाकेको जिल्ला भएपनि यहाँ विकासले भने नागरिकको अपेक्षा अनुसार गतिलिन सकेको थिएन । तर देश संघीय संचरनामा गएपछि भने भोजपुरमा विकासले गतिलिएको अवस्था छ । संघीयता कार्यन्वयन पश्चात भोजपुरमा दुई नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् । यहाँ स्थानीय सरकारले आफ्नो ठाउँको विकासका लागि रचानात्मकढंगले विकासका गतिविधिलाई अघि बढाएका छन् ।
भोजपुरमा सडक पूर्वाधारसँगै पर्यटकीय क्षेत्रमासमेत नमूनायोग्य कामहरु भईरहेका छन् । सीमित श्रोतको अधिकतम सदुयोग गर्दै स्थानीय तहहरुले प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा दिर्घकालिन महत्व योजनाहरुको थालनी गरेको अवस्था छ । यहाँको पौवादुङमा गाउँपालिकाले आफ्नो श्रोत, प्रदेश तथा संघ सरकारसँगको सहकार्यमा तिवारीभञ्याङ– अधेँरीघाट ३५ किलोमिटर सडक कालोपत्र थालेको छ ।

पौवादुङमाले कालोपत्र गरिरहेको तिवारीभञ्याङ अधेँरीघाट कालोपत्र सडक ।

यो गाउँपालिकाले कृषि तथा पर्यटकीय क्षेत्रमा पनि योजनावद्ध विकास थालेको अवस्था छ ।खुख्खा क्षेत्रका रुपमा परिचित यो गाउँपालिकाले कृषि क्षेत्रमा गरेको लगानीले अकबरे खुर्सानीबाट मात्र बार्षिक रु. छ करोडदेखि आठ करोडसम्म भित्रने गरेको गाउँपाकिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । कृषकलाई दुग्ध उत्पादनसँग जोड्न यो आर्थिक वर्षमा करिव दुई सय वटा उन्नत जातका गाईका बाछी वितरणको कार्यक्रम अघि सारेको उहाँको भनाइ छ ।
गाउँपालिकालाई फुसको छानोमुक्त बनाउने लक्ष्यले नागरिकको फुसको छानो हटाउने कार्यक्रम सञ्चालन भईरहेको उहाँको भनाइ छ । आफ्नो कार्यकाल भित्र यहाँका सम्पूर्ण परिवारको फुसको छानो हटाउने अध्यक्ष राईले बताउनुभयो ।
“देश संघीय संरचनामा गएपछि स्थानीय सरकार सञ्चालनमा छन्”अध्यक्ष राईले भन्नुभयो,“हुनत देशमा संघीयता भएपछि खर्च मात्रा बढीभयो भन्ने भास्य फैलाउन खोजिएको पनि देखिन्छ । तर स्थानीय सरकार सञ्चालन आएपछि हामीले नमूनायोग्य काम गर्न सफल भएका छौँ । यो संघीयताको उजप हो । स्थानीय सरकार भएको महशुस जनताले गर्न पाएको अवस्था छ ।”
प्रदेश सरकारको लगानीमा भोजपुर सदरमुकाम– टक्सार विमानस्थलसम्मको करिव साढे चार किलोमिटर कालोपत्र भएको छ । कोशी प्रदेश सरकार सञ्चालनमा भएपछि आस्फाल्ड प्रविधिमा निर्माण गरिएको पहिलो सडक पनि हो । यो सडक प्रदेश सरकारको रु. १६ करोड ९२ लाख लागत कालोपत्र गरिएको हो ।

भोजपुर–टक्सार विमानस्थल कालोपत्र सडक ।

भोजपुरमा २०६५ सालमा कच्ची सडक विस्तारपछि हेलिकप्टरबाट महेन्द्र जीप ल्याएर सवारी साधनको सञ्चालन गरिएको थियो । त्यो बेलासम्म भोजपुरमा कालोपत्र सडक देख्न पाउने अवस्था थिएन । सडकको इतिहासलाई हेर्दा धनकुटा जिल्लामा सडक विस्तार भएको ३१ वर्षपछि भोजपुरमा सडकको विस्तार भएको स्थानीय समाजसेवी गणेश श्रेष्ठ बताउनुहुन्छ ।
देश संघीय संचरनामा गएपछि भोजपुरमा विकासले गतिलिएको उहाँको भनाइ छ । स्थानीय सरकार सञ्चालनपछि धेरै दुरगामी महत्व बोकेका योजनाहरु सञ्चालन भईरहेको श्रेष्ठले बताउनुभयो । जिल्लामा अहिले सडक, पुल, खानेपानी,कृषि पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रमा स्थानीयबासीले महशुस गर्ने खालको विकास भएको उहाँले बताउनुभयो ।
“देशमा संघीयता पश्चात भोजपुरको विकासले गति लिएको अवस्था छ”उहाँले भन्नुभयो,“ठूला कालोपत्र सडक, पुलसँगै भौतिक संरचनाहरु निर्माण भईरहेका छन् । यसले नागरिकको जनजीवनमा प्रत्यक्ष लाभ पुगेको छ । विकासले गति लिएपनि संघीयताको महत्व र आवश्यकताको विषयमा भने जनतालाई बुझाउन आवश्यका छ ।”
जिल्लामा स्थानीय सरकार सञ्चालनमा आएपछि सवै ८१ वटै वडामा कच्ची नै भएपनि सडक विस्तार भएको उहाँको भनाइ छ । विस्तार भएका सडकलाई क्रमागत रुपमा स्तरोउन्नतीमा जोड दिन भने आवश्यक रहेको उहाँले बताउनुभयो ।
भोजपुरका ठूला नदी र खोलाहरुमा आवश्यक पुलहरु निर्माण भईरहेका छन् । प्रदेश सरकार लगानी तथा पहलमा यहाँका बाह्र वटा खोलाहरु पक्की पुल निर्माण सम्पन्न भएका छन् भने दुई वटा पुल निर्माणको चरण रहेका छन् ।
पिखुवा खोला पक्की पुल, आरी खोला पक्की पुल, वेहेरे खोला पक्की पुल, पिखुवा खोला खाल्डे पक्की पुल, बंखुवा पक्की खोला, गंखुवा खोला पक्की पुल, राउते खोला पक्की पुल, श्याम खोला पक्की पुल, इर्खुवा खोला पक्की पुल र एकुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएका छन् ।
निर्माण सम्पन्न भएको पिखुवा खोला पक्की पुल रु. सात करोड ५० लाख, आरी खोला पक्की पुल रु. तीन करोड, वेहेरे खोला पक्की पुल रु. तीन करोड ५० लाख , खाल्डे पिखुवा खोला पक्की पुल रु.दुई करोड ५० लाख, राउते खोला पक्की पुल रु. तीन करोड ५० लाख, कावा खोला पक्की पुल रु. सात करोड ५० लाख, श्याम खोला पक्की पुल रु. तीन करोड ४२ लाख लागत निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
त्यस्तै बंखुवा खोला पक्की पुल रु. दुई करोड २५ लाख, गंखुवा खोला पक्की पुल रु. चार करोड ५० लाख, सिक्तेल खोला पक्की पुल रु. चार करोड र एखुवा खोला पक्की पुल रु.छ करोड ६० लाख लागतमा निर्माण सम्पन्न कार्यालयको भनाइ छ । निर्माणधिन चिर्खुवा खोला पक्की पुलको रु. छ करोड ६२ लाख र तामुटार पक्की पुलको रु.छ करोड ३५ लाखलगायत रहेको कार्यालयले जनाएको छ ।प्रदेश सरकारको पहल तथा स्वीस सरकारको आर्थिक सहयोगमा कावा खोला पक्की पुल र सिक्तेल खालाको गुम्बामा पक्की बनेका हुन् ।

भोजपुर नगरपालिका १२ र रामप्रसादराई गाउँपालिका ५ जोड्ने पिखुवा खोला पक्की पुल ।

प्रदेश सरकारको लगानीमा भोजपुर सदरमुकामबाट उत्तरको व्यापारिक केन्द्र दिङ्ला जोडने भोजपुर– दिङ्ला सडक कालोपत्रको काम भईरहेको छ । यो सडकलाई दुई भागमा विभाजन गरेर कालोपत्र गर्नको लागि काम भईरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो ।
भोजपुर– दिङ्ला पहिलो प्याकेज अन्तर्गत पानीट्याङ्कीबाट तीनतलेसम्म रु. ५८ करोड ४० लाखमा ठेक्का सम्झौता भएर काम भईरहेको प्रमुख रेड्डीको भनाइ छ । यसको भौतिक प्रगति ४० प्रतिशत रहेको छ ।
यहि सडक खण्डको दोश्रो प्याकेज अन्तर्गत तीनतले–दिङ्ला सडक रु. ६३ करोड ९२ लाख लागतमा ठेक्का सम्झौता भएर काम शुरु भएको छ । यो सडकको भौतिक प्रगति १५ प्रतिशत रहेको कार्यालयको भनाइ छ । भोजपुर– दिङ्ला सडकको कुल लम्बाई करिव ४७ किलोमिटर रहेको छ ।
कालोपत्र गर्ने लक्ष्यका साथ षडानन्द १२ –तुर्के –झ्याउपोखरी– फालिदोबाटो सडकमा पनि काम भईरहेको छ । यसको भौतिक प्रगति करिव ७० प्रतिशत रहेको कार्यालयले जनाएको छ । यो सडक रु. ५१ करोड ६२ लाख लागतमा ठेक्का सम्झौता भएको छ ।
त्यस्तै भोजपुर– टक्सार– मानेभञ्याङ– आरी खोला–बालंखा रानीटार सडक पनि कालोपत्र गर्ने लक्ष्यका साथ प्रदेश सरकारको बजेटमा काम भईरहेको कार्यालयले जनाएको छ । क्रमागत योजना रुपमा रहेको यो सडकको पहिलो चरणको लागत रु.५५ करोड ६८ लाख रहेको कार्यालयको भनाइ छ । यो सडकको भौतिक प्रगति ५० प्रतिशत रहेको कार्यालयले जानकारी दिएको छ ।
जिल्लाको खेलकुद क्षेत्रको विकास लागि प्रदेश सरकारको लगानीमा भोजपुर नगरपालिका ७ कोदारमा अन्तराष्ट्रियस्तरको भोजपुर रङ्शाला निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । रङ्शाला कोशी प्रदेश सरकारको करिव रु. १४ करोड लागतमा निर्माण सम्पन्न भएको हो ।

भोजपुर कोदारमा निर्माण भएको अन्तराष्ट्रियस्तरको भोजपुर रंगशाला ।

भोजपुरमा पर्यटन क्षेत्रमा पनि उल्लेख्य काम भईरहेका छन् । स्थानीय तहहरुले आफ्नो ठाउँका पर्यटकीय क्षेत्रको पहिचान गरेर संरक्षण तथा विकासको लागि काम गरिरहेका छन् । नेपाल सरकारको सय घुम्नै पर्ने पर्यटकीय गन्तव्यमा पर्न सफल मुन्दुम पदमार्गको विकासमा टेम्केमैयुङ गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको छ ।भोजपुर, खोटाङ र सोलुखुम्बु जिल्लाका स्थानीय तहहरुलाई छोएको यो पदमार्गको विकासमा प्रदेश सरकार, केन्द्र सरकार, स्वीस सरकार र भोजपुरका स्थानीय तहसँगै अन्य जिल्लाका स्थानीय तहहरुले पनि आवश्यक भूमिका खेलिरहेका छन् । यो पदमार्गलाई पूर्वको स्थापित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ विकास तथा विस्तारमा योजनावद्ध रुपमा काम भइरहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।यो आर्थिक वर्षमा यो क्षेत्रको थप विकास तथा विस्तारको लागि रु. एक करोड ८५ लाखलगायतमा विभिन्न संरचनाहरु निर्माण हुने उहाँको भनाइ छ ।“मुन्दुम पदमार्गलाई पूर्वको एक स्थापित गन्तव्य रुपमा विकास गरिरहेका छौँ” अध्यक्ष बस्नेतले भन्नुभयो,“स्थानीय तह, केन्द्र सरकार,प्रदेश सरकार र स्वीस सरकारको लगानीमा यसको थप विकासमा जुटेका छौँ । यो पदमार्गलाई स्थानीयबासीको दिगो आम्दानीको श्रोतको रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।”

मुन्दुम पदमार्ग टेम्केमैयुङ गाउँपालिका ।

यहाँको रामप्रसादराई गाउँपालिकाले डाग्बुङ (गुँरास)पदमार्ग निर्माण गरेको छ । प्राकृतिक रुपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ(गुँरास)पदमार्ग निर्माण गरेको हो ।
यो क्षेत्रमा रहेको नेपालको राष्ट्रिय फूल लालीगुँरासको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यका साथ पदमार्ग निर्माण थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताउनुभयो । पदमार्ग निर्माणमा करिव रु. ५४ लाख खर्च भएको उहाँको भनाइ छ ।

डाग्बुङ(गुँरास)पदमार्ग रामप्रसादराई गाउँपालिका ।

रामप्रसादराई गाउँपालिका १ ओख्रेमा निर्माण भईरहेको यो स्थानलाई आधार बनाएर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने लक्ष्यका साथ काम भईररहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । हाल आख्रे बजारबाट करिव छ किलोमिटर पदमार्ग निर्माण भएको अध्यक्ष राईले बताउनुभयो । निर्माण भईरहेको पदमार्गलाई वडा ४ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुलीसम्म जोड्ने योजना रहेको छ ।
पर्यटकलाई लक्षित गरेर यहाँ करिव एक सय रोपनी क्षेत्रमा चिया खेती विस्तार थालिएको अध्यक्ष राईले बताउनुभयो । यहाँ आउने पर्यटकलाई लक्षित गरेर घरबास (होमस्टे) निर्माण गरिने अध्यक्ष राईले जानकारी दिनुभयो । यसलाई बृहत मुन्दुम ट्रेलसँग जोड्ने लक्ष्य रहेको अध्यक्ष राईले बताउनुभयो ।
हतुवागढी गाउँपालिकाले पनि जोर आहाल, शंखामचुली, दिमालुङ पदमार्ग निर्माण गरेको छ । प्राकृतिक रुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएको हो ।विभिन्न आर्थिक वर्षमा यो पदमार्ग निर्माण लागि प्रदेश सरकारसँगको सहकार्यमा करिव रु. तीन करोड हारहारी लगानी भईसकेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।

जोर आहाल, शंखामचुली, दिमालुङ पदमार्ग हतुवागढी ।

क्रमागत रुपमा यो पदमार्गको विकास तथा विस्तारको काम भईरहेको उहाँको भनाइ छ ।यसलाई मुख्य पर्यटन क्षेत्रको रुपमा स्थापित गराउने लक्ष्यको साथ निर्माण थालिएको गाउँपालिकाको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटनको आवगमन बढाएर आर्थिक श्रोतको रुपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो ।
यहाँका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा सिद्धकाली देवी मन्दिर, नागछाँगा, पशुपति मन्दिर तिम्मा, रामजानकी मन्दिर दिङला, ट्याम्केडाँडा, नेपालको पहिलोबौद्ध विहार टक्सार, च्याङग्रे पोखरी, शन्तानेश्वर महादेवथान गुफा, साल्पापोखरी, कालिकादेवी, सेल्मे डाँडा, सुन्तले डाँडा, दिङ्ला बजार, अरुणडाँडा, मैयुङ डाँडालगायत पर्दछन् ।

त्यस्तै बेहेश्वर मन्दिर, हतुवागढी, हाँसपोखरी, चार हजार १५३ मिटर उचाईरहेको भोजपुरको सवै भन्दा अग्लो स्थान सिलिचुङ चुचुरो र १५३ मिटर उचाई रहेको जिल्लाको सवैभन्दा होचो धार्मिक क्षेत्र माइवेँनी यहाँका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेका छन् । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार