भोजपुर, ५ पुष । स्वास्थ्य कार्यालय भोजपुुरले नौ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । जिल्लाका विभन्न ठाँउमा रहेर स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरुलाई सम्मान गरेको हो । विभिन्न खोप अभियान तथा मातृशिशु स्वास्थ्यको हेरचाहमा सक्रिय भई काम गर्ने उत्कृष्ठ नौ जनालाई १२ हजार नगद सहित सम्मान पत्रले सम्मान गरिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।
एक पालिका एक सामुदायिक स्वास्थ्य महिला स्वयमसेविका सम्मान कार्यक्रम अन्र्तगत दुई नगरपालिका र सात गाउँपालिकाका नौ जनालाई सम्मान गरिएको स्वास्थ्य कार्यालय भोजपुरका जनस्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिनुभयो । जिल्लामा सेवारत पाँच सय ७२ मध्य उत्कृष्ट नौ जनालाई सम्मान गरिएको उहाँको भनाइ छ ।
सम्मानित हुनेमा शान्तीदेवी श्रेष्ठ, तिजमनी राई, शोभा राई, चन्द्रदेवी पराजुली, कल्पना आलेमगर, विनिता राई, ग्रिस्मा राई, तारा कुमारी राई र पवित्रा तामाङलाई सम्मान गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजुकुमार श्रेष्ठले बताउनुभयो । प्रमुख श्रेष्ठले भन्नुभयो ‘हामीले जिल्लाका विभिन्न स्थानीय तहमा काम गरिरहेका स्वास्थ्य महिला स्वयमसेविकालाई सम्मान गरेका छौ, यो छनोटको जिम्मा सम्वन्धीत स्थानीय तहलाईनै दिएका थियौँ उहाँहरुको सिफारिसको आधारमा नौ ओटै पालिकाका एक एक जना सम्मानित हुनु भएको छ, यसले उहाहरुलाई काम गर्न थप हौसला मिल्ने छ ।’
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले यस्तो सम्मान कार्यक्रमले महिला स्वयसेविकाहरुमा काम गर्न थप हौसला मिल्ने बताउनुभयो । उहाँहरुको सेवा सुविधा थप गर्न आफ्नो ठाउँबाट पहल कदमी गरिरहेको समेत उहाँले धारणा राख्नुभयो । सम्मान पाएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् । स्वास्थ्य कार्यालयको सभाहलमा शुक्रवार सम्मपन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नर बहादुर थापा, जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर शिवजी रिजाल, कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरका प्रमुख बुद्धीराम मल्लआले, नौ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।