कादुरीको सहयोगमा अन्नपूर्णका २३८ घरमा पुग्यो पिउने पानी


भोजपुर,३ फागुन ।

पानीको समस्यामा रहेका भोजपुरको टेम्केमैयुङ गाउँपालिका ३ अन्नपूर्णका स्थानीयको पानीको समस्या हटेको छ । कादुरीको सहयोगमा यहाँका दुई सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण भएसँगै वषौँको पानीको समस्या हटेको हो । कादुरी एग्रिकल्चर एड एशोसियसन व्रिटिस गोर्खाज्ले अन्नपूर्ण वाख्राङ बाहुनगाउँ खानेपानी आयोजना निर्माण गरिदिएसँगै यहाँको पानीको समस्या अन्त्य भएको हो ।

यहाँ निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको रक्षा मन्त्रालयका सहसचिव बावुराम अधिकारी र कादुरी संस्थाका डेपुडी डाइरेक्टर विजयन्त शेरचनले विहिबार संयुक्तरुपमा उद्घाटन गर्नु भएको छ । आयोजना निर्माणमा मूल्य अभिबृद्धि करसहित कुल दुई करोड १२ लाख एक हजार २१२ रुपैँया खर्च भएको टेम्केमैयुङ ३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । आयोजना निर्माणमा ५२ लाख ६३ हजार रुपैँया उपभोक्ताको श्रमदान रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चेवनराज राईले बताउनुभयो । खानेपानी आयोजना निर्माणले स्थानीयबासीको पानीको समस्या हटेको उहाँको भनाइ छ ।

छ ओटा मुहानबाट संकलन गरेर बस्तीसम्म पानी ल्याइएको हो । आयोजनाको पाइप लाइन २६ हजार ९५ मिटर रहेको योजनाका प्रोजेक्ट म्यानेजर देवान कुमार राईराईले जानकारी दिनुभयो । यहाँ १५ ओटा संकलन ट्याङ्की र नौवटा वितरण ट्याङ्की निर्माण गरिएको उहाँको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले खानेपानीको क्षेत्रमा कादुरी संस्थाको ठूलो योगदान गरेको बताउनुभयो । गाउँपालिकामा धेरै समस्या रहेपनि गाउँपालिकाको आन्तरिक श्रोत कम भएकोले कतिपय योजनालाई सम्बोधन गर्न नसकिएको उहाँले बताउनुभयो । खानेपानी आयोजना निर्माणले स्थानीयमा सहजता थपिएको उपाध्यक्ष राईको भनाइ छ । स्थानीयको पानीको समस्या समाधानमा कादुरीले खेलेको भूमिका प्रशंसायोग्य रहेको उहाँले बताउनुभयो । यसको दिगोव्यवस्थापनमा स्थानीय सरकारले पनि योगदान गर्ने उहाँको भनाइ छ ।

“आयोजना निर्माणले यहाँका स्थानीयले स्वच्छ खानेपानी उपभोग गर्न पाएका छन्” उपाध्यक्ष राईले भन्नुभयो, “आन्तरिक श्रोत कम भएको कारण गाउँपालिकाले स्थानीयका कतिपय कामलाई सम्बोधन गर्न सकेको छैन ।कादुरीले खानेपानी क्षेत्रमा गरेको कामले यहाँका स्थानीयको पानीको समस्या अन्त्य भएको छ । भावी दिनमासमेत हामीले सहयोगको अपेक्षा लिएका छौँ ।”

गाउँपालिकामा आउने सीमित बजेटको अधिकतम उपयोग गर्दै गाउँपालिकाले एक सय परिवारमा एक घर एक धारा पु¥याउन सफल भएको उपाध्यक्ष राईको भनाइ छ । यो आर्थिक वर्षमा थप ८० घर परिवारमा एक घर एक धारा पु¥याउने लक्ष्य रहेको उपाध्यक्ष राईले बताउनुभयो । भौगोलिक विकटताका कारण काम गर्न केहि कठिनाई रहेको उहाँको भनाइ छ ।

सवैको साथ सहयोगले खानेपानी योजना निर्माण गर्न सफल भएको कादुरी संस्थाका प्रोजेक्ट डाइरेक्टर क्याप्टेन राजन राईले बताउनुभयो । आयोजना निर्माणले यहाँको खानेपानी समस्याको अन्त्य भएको उहाँले धारण राख्नुभयो । यसको संरक्षण तथा दिगो व्यवस्थापनको लागि सरोकारवाला पक्षले ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ ।

कादुरी संस्थाका डेपुडी डाइरेक्टर विजयन्त शेरचनले खानेपानीसँगै विभिन्न क्षेत्रमा कादुरी संस्थाले काम गर्दै आएको बताउनभयो । यहाँको योजनाको काम सम्पन्न भएकोले यसको स्थायीत्व तथा दिगोव्यवस्थापनको लागि स्थानीयबासीले भूमिका खेल्नु पर्ने धाराणा राख्नुभयो । भावी दिनमासमेत आवश्यक सहयोग गर्ने उहाँको भनाइ छ ।

आयोजनाको उद्घाटन गर्दै नेपाल सरकारका रक्षा मन्त्रालयका सहसचिव बावुराम अधिकारीले कादुरीको सहयोगमा योजना निर्माणले यहाँका स्थानीयमा सहजता थपिएको बताउनुभयो । खानेपानी सबैका लागि अपरिहार्य वस्तु रहेकाले सरकारले आवश्यक काम गरिरहेको उहाँको भनाइ छ । आयोजनाहरुको दिगोव्यवस्थापनको लागि ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

“खानेपानी हाम्रो जीवनको लागि अपरिहार्य वस्तु हो”सहसचिव अधिकारीले भन्नुभयो,“नेपाल सरकारले पनि खानेपानीको क्षेत्रमा काम गरिरहेको छ । कादुरीको सहयोगमा यो स्थानमा खानेपानी आयोजना सम्पन्न भएको छ । यसको दिगोव्यवस्थापनको लागि ध्यान दिन आवश्यक छ ।” यहाँ २०७५ सालबाट आयोजनाको निर्माण थालिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार