भोजपुरको खाटम्मामा बर्थिङ सेन्टर स्थापना


भोजपुर, २६ मंसिर ।
विकट मानिने भोजपुरको साल्पासिलिछो गाउँपालिकाको खाटम्मामा प्रसूति सेवा केन्द्र (बर्थिङ सेन्टर) स्थापना गरिएको छ । घरमा हुने जन्मदरलाई घटाउदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने लक्ष्यले गाउँपालिकाले यहाँ बर्थिङ सेन्टर स्थापना गरेको हो ।
बर्थिङ सेन्टरबाट ग्रामिण भेगमा रहेका गर्भवती तथा सुत्केरी महिलालाई दक्ष स्वस्थ्यकर्मीबाट सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधबकुमार अधिकारीले जानकारी दिए । भावी दिनमा यहाँको सेवालाई थप विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ । ‘सुरक्षित मातृत्व सेवा प्रदान गर्ने लक्ष्यले बर्थिङ सेन्टरको स्थापना गरेका हौँ’ प्रशासकीय अधिकृत अधिकारीले भने‘ सेन्टर स्थापनाको मुख्य उद्धेश्य मातृ मृत्युदर र शिशु मृत्युदर घटाउने हो । अव यहाँका नागरिकले दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिन थालेका छन् ।’


सेवा सञ्चालनको लागि दुई अनमी र दुई अहेबको दरबन्दी सिर्जना गरेर सेवा शुरु गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । दुर्गमका नागरिकलाई सहज सेवा प्रदान गर्नका लागि दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा शुरु गरिएको उनको भनाइ छ ।‘दुर्गम मानिने खाटम्मामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएका छौँ’ अध्यक्ष कुलुङले भने,‘विगतका दिनमा यहाँका नागरिकलाई सहज रुपमा प्रसूति सेवा लिने अवस्था थिएन । अव भने सुरक्षित प्रसूति सेवा लिने अवस्था बनेको छ ।’
महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको गाउँपालिका उपाध्यक्ष अस्मिता राईले बताइन् । सेवा शुरु भएपछि सुरक्षित प्रसूति सेवा लिन बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ ।‘महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा शुरु गरेका हौँ’ उपाध्यक्ष राईले भनिन्,‘बर्थिङ सेन्टर स्थापनाले घरमा हुने जन्मदरको अन्त्य हुने हामीले अपेक्षा लिएका छौँ ।’
वडामा बर्थिङ सेन्टर स्थापनाले नागरिकहरुमा सहजता थपिएको वडाध्यक्ष सञ्जय राईले बताए । केन्द्र स्थापना भएपछि मानिसहरुले सहज रुपमा सेवा लिन पाएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार