पौवादुङमामा नवनिर्मित बाह्र कोठे पक्की विद्यालय भवनको उद्घाटन


भोजपुर, २७ असोज । भोजपुरको पौवादुङमा गाउँपालिकामा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । भवनको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष किरण राईले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति राईले धेरै समयको अथक प्रयासपछि पञ्चकन्या माध्यमिक विद्यालयमा नमूना भवन निर्माण गर्न सफल भएको बताए । यसले विद्यालयको शैक्षिक सुधारमा सहयोग पुग्ने अध्यक्ष राईको भनाइ छ ।“धेरै समयको मेहनतपछि हाम्रो गाउँपालिकामा पनि नमूना विद्यालय भवन निर्माण गर्न सफल भएका छौँ”अध्यक्ष राईले भने,“भवन निर्माणको लागि १९ महिना काठमाण्डौँका विभिन्न मन्त्रालय तथा कार्यालय धाएको छु । हेर्दां त्यतिकै बजेट आउने रहेछ भन्ने पनि लागेको होला । तर यो भवनको लागि हामीले निकै मेहनत गरेका छौँ । यो भवनको लागि महत्त्वपूर्ण सहयोग पराउनु हुने पुर्व मुख्यमन्त्री शेरधन राई प्राधिकरणका सिईयो सुशील ज्ञवाली र सचिवालयका साथिहरूलाई धन्यवाद दिन चाहान्छु ।”

गाउँपालिकामा आउने बजेटले धेरै ठुला संरचना निर्माणमा सम्भव नरहेकाले सबै मिलेर प्रदेश र संघको बजेट भित्राउन पहल गर्नु पर्ने अध्यक्ष राईको भनाइ छ । विद्यालयहरुमा भौतिक संरचना निर्माणको काम भईरहेकोले अव शैक्षिक सुधारमा सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने उनको भनाइ छ ।

“बिद्यालयहरुको भौतिक सुधारसँगै शैक्षिक सुधारमा विषेश ध्यान दिन आवश्यक छ” अध्यक्षले राईले भने,“गाउँपालिकाले यसको सुधारको लागि काम गरिरहेका छ । शिक्षक, अभिवाभकसँगै विद्यार्थीहरु पनि जिम्मेवार बन्न आवश्यक छ ।” गाउँपालिकाको शैक्षिक सुधारको लागि योजनाबद्ध रुपमा काम भइरहेकोले यसबाट गुणात्मक परिणाम लिन सबैले जिम्मेवार बन्नु पर्ने आवश्यक रहेको अध्यक्ष राईले बताए । गाउँपालिकाले प्राविधिकसँगै आधुनिक शिक्षा जोड दिएको उनको भनाइ छ ।

“आजको आश्यकता भनेको आधुनिकसँगै प्रविधिमुलक शिक्षा हो”उनले भने,“हामीले यसमा जोड दिएका छौँ । यहि विद्यालयमा पनि प्राविधिक शिक्षा लागु गरेका छौँ । यसबाट विद्यार्थीहरुले अधिकतम लाभ लिन सक्नु पर्छ ।” नेपाल सरकार तथा साउदी अरव सरकारको सहयोगमा भवन निर्माण गरिएको हो । बाह्र कोठा रहेको भवन भ्याट बाहेक तीन करोड २४ लाख लागतमा निर्माण गरिएको हो । भवन निर्माणको लागि पाँच करोडको वोलपत्र आह्वान भएको थियो ।

विद्यालयमा सुविधा सम्पन्न भवन निर्माणले पठनपाठनमा सहजता थपिएको विद्यालयका प्रधानाध्यपक रामकुमार राईले बताए । गाउँपालिकाको पहलमा विद्यालयमा नमूना भवन बनेको उनको भनाइ छ । भावी दिनमा विद्यालयको शैक्षिक सुधारका क्षेत्रमा थप काम गर्ने उनको भनाइ छ ।“विद्यालयमा यो भवन बन्नु भनेको हाम्रो लागि गौरवको कुरा हो” उनले भने,“यसले विद्यालयलाई थप हौसला मिलेको छ । अवका दिनमा गुणस्तर सुधारमा योजनाबद्ध रुपमा थप काम गछौँ ।”

गाउँपालिकाले पाएको कुशल नेतृत्वको कारण विकासले गतिलिएको भूतपूर्व विद्यार्थी संघका सचिव काजीमान थापाले बताए । नेतृत्वको दुरदर्शी योजनाले शिक्षा क्षेत्रको सुधारमा सहयोग पुगेको उनको छ । भूतपूर्व विद्याथीहरुले पनि विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक सहयोग गर्ने सचिव थापाले बताए ।

“गाउँपालिकाले पाएको कुशल नेतृत्वको कारण पौवादुङमाको विकासमा लहर चलेको छ” उनले भने,“यो नमूना भवन त्यति सहज रुपमा बनेको छैन । यो भवनको माग गर्ने क्रममा देखिएका समस्या मैले पनि नजिकबाट नियालेएको छु । गाउँपालिका अध्यक्षले गरेको यो कामको बास्तवमा प्रशंसायोग्य छ ।यो हाम्रो लागि गौरवको काम हो ।” शिक्षा विकास तथा समन्वय इकाइ भोजपुरका प्रमुख रुद्र राईले जिल्लामा नै नमूना भवन बनेको बताए । भवन निर्माणको लागि गाउँपालिका अध्यक्षले खेलेको भूमिका प्रशंसायोग्य रहेको उनको भनाइ छ । विद्यालयको शैक्षिक सुधारको लागि काम भईरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार