भोजपुर, २४ असोज । भोजपुरको पौवादङमा गाउँपालिका ५ सानोदुम्मामा वडास्तरिय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गत १८ गतेबाट शुरु भएको प्रतियोगितामा मंगलबार सम्पन्न भएको हो । वडा न ५ सानोदुम्माको प्रायोजन तथा पौवादुङमा ५ सानोदुम्मा खेलकुद विकास समितिकोे आयोजनामा भएको प्रतियोगितामा वडास्तरिय खुल्ला पुरुष तर्फ १७ र वडास्तरिय खुल्ला महिला तर्फ ४ तथा वडास्तरिय उमेर समूह तर्फ ७ टिम गरी २८ टिमको सहभागिता रहेको थियो ।
वडास्तरिय खुल्ला पुरुष प्रतियोगिता तर्फ अरुण गाउँपालिका ६ जरायोटार विजेता र व्वाईज युनाईटेड पौवादुङमा ५ चौकीबारी उप–विजेता बनेको छ । विजेता बन्ने टिमले ट्रफी,मेडल, प्रमाण पत्रसहित नगद २० हजार र उपविजेता टिमले ट्रफी,मेडल, प्रमाण पत्रसहित नगद दश हजार पाएको छ । उमेर समुह तर्फ व्वाईज युनाईटेड पौवादुङमा ५ चौकीबारी विजेता र पौवादुङमा २ तिवारीभञ्जाङ उपविजेता बनेको छ । विजेता बन्ने टिमले ट्रफी,मेडल, प्रमाण पत्रसहित नगद १० हजार र उपविजेता बन्ने टिमले ट्रफी,मेडल, प्रमाण पत्रसहित नगद पाँच हजार पाएको छ ।
त्यसै गरी महिला तर्फ भोजपुर नगरपालिका १० भैंसिपंखा विजेता र आयोजक खेलकुद विकास समिति उपविजेता बनेकाछन् । विजेता बन्ने टिमले ट्रफी,मेडल, प्रमाण पत्रसहित नगद आठ हजार र उपविजेता बन्ने टिमले ट्रफी,मेडल, प्रमाण पत्रसहित नगद चार हजार पाएको छ । दशँै तिहारको अवसरमा खेलकुद प्रतियोगिताको आयोजना गरिएको वडाध्यक्ष बोमप्रसाद राईले बताए । युवाहरुलाई खेलमा प्रोत्साहन गर्न विभिन्न समयमा प्रतियोगिताहरुको आयोजना गर्दै आएको उनको भनाइ छ ।
‘हामी खेलको विकासका लागि योजनाबद्ध रुपमा काम गरिएका छौँ’वडाध्यक्ष राईले भने,‘यो वडा विश्व अल्ट्रा धावन मिरा राई जन्मस्थल पनि हो । पालिकासँग सहकार्यमा यहाँ खेलमैदान निर्माणसँगै विभिन्न संरचनाहरु निर्माण गरिरहेको छ । यसको मुख्य उद्धेश्य नै खेल क्षेत्रको विकास गर्नु हो ।’