भोजपुर, ३ असोज । सडकको पहुुँच विस्तार भएसँगै भोजपुर चोलन्ती, मझौलेको निगुरो शहर बजारका भान्सामा पुग्न थालेको छ । भौगोलिक रुपमा दुर्गम मानिने यी स्थानको खोलाखोल्सी तथा वन पाखामा फल्ने निगुरो देशका ठुला शहरमा पुग्न थालेको हो । टेम्केमैयुङ ५ चोलन्ती, मझौलेका स्थानीयले वन जंगलबाट संकलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, झापा, काठमाण्डौ लगायतका शहरमा जाने गरेको छ । संकलित निगुरो घरबाटै बिक्री गर्दै आएको स्थानीयबासी डम्बर विष्टले बताए । विगतमा त्यतिकै वन,पाखा खोलाखोल्सीमा खेर गईरहेको निगुरोले अहिले गाउँघरमा नै राम्रो मूल्य पाउने गरेको उनको भनाइ छ ।
‘‘सडकको पहुँच विस्तारपछि यहाँका वन पाखामा पाइने निगुरोले मूल्य पाएको छ’’स्थानीयबासी विष्टले भने,‘‘हामीले संकलन गरेको निगुरो आफ्नै घरबाट विक्री भईरहेको छ । गाउँमा खेर गईरहेको निगुरो अहिले शहरका भान्सामा पुग्ने गरेको छ । निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज छ । ’’ संकलन गरेको निगुरो ठेकेदारहरुले घरमा नै आएर किन्ने गरेको स्थानीयबासी मिना बस्नेतले बताए । संकलन गरिएको निगुँरो प्रतिकेजी २५ देखी ३५ रुपैँयामा ठेकेदारले लैजाने उनको भनाइ छ । पात भएको भन्दा डाँठ मात्र भएको निगँुरोले राम्रो मूल्य पाउने बस्नेतले बताए । निगुरो विक्रीबाट परिवारको घर खर्च धान्न सहज भएको उनले जानकारी दिए । शुरु शुरुमा प्रतिकेजी ४० देखी ४५ रुपैँयासम्म बिक्री गरेको उनको भनाइ छ ।
‘‘हाम्रो जस्तो दुर्गम ठाउँको निगुरो विक्री होला भन्ने मलाई लागेको थिएन’’उनले भने,‘‘अहिले यहि निगुरो किन्न घरमा नै मान्छे आउछन् । गाउँभरिका सवै जना वन जंगलमा गएर संकलन गरेर ल्याएर बिक्री गर्दै आएका छौँ । निगुरो बिक्रीबाट राम्रै आम्दानी हुन्छ ।’’
चोलन्ती, मझौलेमा संकलन भएको निगुरो स्थानीय बजारमा भन्दा पनि जिल्ला बाहिरका शहरहरुमा जाने गरेको स्थानीयबासी एकराज विष्टले बताए । एक जनाले एक दिनमा एकदेखी दुई डोकोसम्म निगुँरो संकलन गर्ने उनको भनाइ छ । ‘‘खोलाखोल्सीको निगुरो शहर बजारमा पुग्न थालेको छ’’ उनले भने,‘‘निगुरो हुर्किएपछि गाईबस्तुलाई सोतरको रुपमा प्रयोग गर्दै आएका थियौँ । अहिले त्यहि निगुरोले मूल्य पाएको अवस्था छ । हामीले जति धेरै संकलन गरेपनि बिक्रीको लागि कुनै समस्या छैन ।’’
स्थानीयबासीले वर्षात याम शुरु भएपस्चात अर्थात जेठ असारबाट कात्तिक महिनासम्म निगुरो बेच्दै आएका छन् । वनजंगलमा सजिलै पाइने, निगुरो अर्गानिक हुने भएकाले शहरका मानिसको रोजाइमा पर्ने गरेको छ । तराइमा पाइने निगुरो भन्दा पहाडी क्षेत्रबाट जाने डौँठे निगुरोको बजारमा राम्रो माग रहेकोे स्थानीय निगुरो व्यापारी लालबहादुर विष्टले बताए । यो वर्षबाट चोलन्ती,मझौले गाउँबाट मात्र आठ मेट्रिक्टन निगुरो बाहिरका बजारमा लगेको उनले जानकारी दिए । गत वर्षको भन्दा यो वर्ष उत्पादनमा केहि कमि आएको उनको भनाइ छ । गत वर्ष यहाँबाट दश मेट्रिक्टन बढी निगुरो बाहिर लगेको व्यापारी विष्टले बताए ।
‘‘पहाडको निगुँरोको शहरका बजारमा राम्रो माग छ’’उनले भने,‘‘गाउँबाट हिँडेको पाँचदेखी छ घण्टामा यसलाई धरान, इटहरी पु¥याउछौँ । बजारमा पु¥याएपछि बिक्रीको लागि कुनै समस्या छैन । खास गरेर पहाडको डौठे निगुरो अचारको लागि बढी माग हुन्छ । मैले मात्र यो वर्ष आठ मेट्रिक्टन निगुरो बाहिर लगे ।’’ जैविक र मौसमी तरकारी निगँुरो पौष्टिकताले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि फाइदाजनक रहेको पोषणविद्हरुको भनाइ छ । निगुँरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइने भएकाले बालबालिका तथा गर्भवती महिलालाई धेरै लाभदायक हुने उनीहरुको भनाइ छ ।
स्थानीयस्तरमा पाईने निगुरो बाहिरका बजारसम्म निर्यात हुने गरेकाले यसको उत्पादन र बजारीकरणको लागि गाउँपालिकाले आवश्यक पहल गर्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताईन । गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर योजनाबद्ध रुपमा काम गर्दै आएको उपाध्यक्ष राईको भनाइ छ । ‘‘स्थानीय सरकार सञ्चालनमा आएपछि जनतालाई केहि सहज भएको अवस्था छ’’उपाध्यक्ष राईले भनिन्,‘‘ गाउँ÷गाउँमा कच्ची नै भएपनि कृषि सडक बनेकाले दुर्गम ठाउँका कृषि उपजले बजार पाएको अवस्था छ ।
अहिले किसानले घरबाट नै बिक्री गर्न सक्ने अवस्था छ । स्थानीयस्तरमा पाईने बस्तुहरुको उत्पादनसँगै बजारीकरणमा गाउँपालिकाले पनि आवश्यक पहल गर्छ ।’’उनीउ प्रजातीमा पर्ने निगुरो पहाड र तराई सबैतिरका वन जंगल तथा खोलाखोल्सीमा पाइने वनस्पति हो । निगुरो पहाडी क्षेत्रमा बढी मात्रामा पाइने भएपनि यहाँका गाउँघरका स्थानीयले भने कमैले मात्र खाने गरेका छन् ।