भोजपुर, २४ भदौ । वातावरणको संरक्षणको लागि नेपाली सेनाले दुई हजार छ सय विरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका १२ टक्सारमा रहेको इनामे सामुदायिक वनमा बृक्षारोपन गरेको हो । सेनाको ‘गो ग्रिन क्याम्पेन’ कार्यक्रम अन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा आइतबार बृक्षारोपन गरिएको हो ।
यहाँ तेजपत्ता मसलालगायत गरी एक हजार सय विरुवा रोपिएको सेनाले जनाएको छ । यो अभियान अन्तर्गत जिल्लाभर विरुवा रोप्ने योजना रहेको नयाँ श्रीनाथ गण भोजपुरका गणपति फडिन्द्र थापाले जानकारी दिए । ‘‘वातावरणको संरक्षणको लागि दुई हजार छ सय विरुवा रोपेका छौँ’’ गणपति थापाले भने,‘‘हाम्रो यो अभियान जारी छ । यो अभियान अन्तर्गत जिल्लाका अन्य स्थानमा पनि विरुवा रोप्ने लक्ष्य छ । यसको संरक्षणको लागि स्थानीयसँगै हामीले पनि आवश्यक काम गछौँ ।’’सेनाले विपद् लगायत विभिन्न सामाजिक क्षेत्रमासमेत आफ्नो गतिवधिहरुलाई बढाएको गणपति थापाले बताए ।
सेनाले थालेको विरुवा रोपन अभियान सरहाणिय रहेको बताउँदै, यसको संरक्षण तथा विकासमा ध्यान दिनु पर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । ‘‘सेनाले थालेको यो अभियान स्वागतयोग्य छ’’ प्रजिअ घिमिरेले भने,‘‘नाङ्गा पाखाहरुलाई हरियाली बनाउन यस्तो अभियान सञ्चालन आवश्यक छ । रोपिएका विरुवाको संरक्षणमा ध्यान दिन जरुरी छ । त्यसको लागि स्थानीय नागरिकलाई भूमिका खेल्न मेरो अनुरोध छ ।’’
बृक्षवरोपनको लागि सेनालाई विरुवा उपलब्ध गराएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयले जिल्लाका विभिन्न ठाउँमा बृक्षारोपन कार्यक्रम गर्दै आएको डिभिजन वन कार्यालयका प्रमुख बिरेन्द्र शाहले बताए । ‘‘हामीले नाङ्गा डाँडालाई हरियाली बनाउने उद्धेश्यले बृक्षारोपन कार्यक्रम गरिरहेका छौँ’’प्रमुख शाहले भने,‘‘ सेनाले गरेको कामले वन कार्यालयको अभियानलाई पनि साथ मिलेको छ । विषेश गरेर स्थानीयहरुमा फलफुल तथा जडीबुटीजन्य विरुवा रोपनमा चासो देखिएको छ ।’’
कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, उद्योग बाणिज्य संघ, स्थानीय, नागरिक समाज, स्थानीय जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।