भुल्केको गुप्तेश्वर महादेवको संरक्षण गर्दै स्थानीय सरकार


भोजपुर, ९ भदौ । भोजपुरको रामप्रसादराई गाउँपालिका ३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको संरक्षणमा स्थानीय सरकार जुटेको छ । धार्मिक क्षेत्रको रुपमा स्थापित गराउन स्थानीय सरकार गुप्तेश्वरको संरक्षणमा जुटेको हो । यो स्थानको संरक्षण गर्न केन्द्र सरकारको रु.३० लाख र गाउँपालिकाको रु.४० लाख गरी रु.७० लाख लागत साझेदारीमा मन्दिरसँगै आवश्यक संरचना निर्माणको काम सम्पन्न भएको वडाध्यक्ष रामु थापा मगरले जानकारी दिए ।

प्राकृतिक स्वरुपलाई यथावत राख्दै आवश्यक विकासको काम गरिने उनको भनाइ छ । ‘‘यो ठाउँको विकासमा स्थानीय सरकार जुटेको छ’’ वडाध्यक्ष थापामगरले भने, ‘‘यसलाई एक स्थापित धार्मिक स्थल बनाउने हाम्रो लक्ष्य हो । धार्मिक क्षेत्रको रुपमा विकास गर्दै पर्यटनसँग जोडेर यहाँका स्थानीयको आर्थिक उपार्जनमा टेवा दिने उद्धेश्यले हामीले विकासको काम अघि बढाएका छौँ ।’’ करिब ४ वर्ष अघि सडक विस्तार गर्ने क्रममा देवीदेवताको मूर्ती फेला परेपछि गाउँपालिका र स्थानीयको सकृयतामा यहाँको संरक्षणमा जुटेको स्थानीयबासी एवं वडासदस्य टेकराज भट्टराईले जानकारी दिए ।यो क्षेत्रमा जलधारको राम्रो सम्भवना रहेकोले पानीको मुहानसँगै यहाँको पञ्चकञ्या देवीथानको पनि संरक्षण भईरहेको उनको भनाइ छ ।

‘‘यो देवस्थलको उत्पति भएसँगै यहाँ दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढेको छ’’ उनले भने,‘‘देशका विभिन्न ठाउँबाट मानिसहरु आउने गरेका छन् । आउने भक्तजनलाई लक्षित गरेर थप विकास तथा विस्तारमा स्थानीय सरकार जुटेको अवस्था छ ।’’ देवस्थल परिसरको बृहतर विकास लागि विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) तयार गरेर निर्माणको काम अघि बढाइएको रामप्रसादराई गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिए । यहाँ निर्माण हुने सम्पूर्ण संरचनाको रु. चार करोड बराबरको डिपिआर तयार भएको उपाध्यक्ष राईले बताए ।

‘‘यो क्षेत्रको बृहतर विकासमा जुटेका छौँ । गुप्तेश्वरलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न संरक्षण तथा विकासको काम भइरहेको छ’’उपाध्यक्ष राईले भने,‘‘ यो क्षेत्रलाई एक धार्मिक क्षेत्रको रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’’ गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । आन्तरिक तथा बाह्य पर्यटनको विकासको लागि यस्ता ठाउँको विकाससँगै प्रचार प्रसारमा जोड दिइएको अध्यक्ष राईको भनाइ छ । ‘‘गाउँपालिकाको आर्थिक पाटोसँग जोड्न यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ’’अध्यक्ष राईले भने,‘‘यस्ता ठाउँको विकासले यहाँको पर्यटनमा टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य छ ।’’

गुप्तेश्वर महादेव स्थलमा पुगेर दर्शन गरे मनोकाङ्क्षा पुरा हुने स्थानीयबासीको भनाइ छ । सडक खन्ने क्रममा देवी देवताको मूर्तीसँगै अनोठौ प्रकृतिका ढुङ्गा फेला परेपछि यहाँ गुप्तेश्वर नामाकरण गरेर संरक्षण थालिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार