राउते खोलाको बढीले सडक बगाउँदा स्थानीयको जनजीवन प्रभावित


भोजपुर, १० साउन । राउते खोलाको बाढीले सडक बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजिवन कष्टकर बनेको छ । गत जेठ ३१ र असार ८ मा आएको बाढीले यो खोलामा पर्ने छ ओटा सडक बगाएसँगै स्थानीयको जनजिवन कष्टर बनेको हो । बाढीले धेरै ठाउँमा सडक गहिरो बनाएर कटान गर्दा मर्मत गरेर सञ्चालनमा ल्याउनसमेत समस्या देखिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । बाढीले निकै ठुलो क्षति गरेकोले स्थानीय सरकारको पहँुच भन्दा बाहिर रहेको उनको भनाइ छ ।‘‘राउते खोलाको बाढीले हाम्रो वडामा करोडौँको क्षति भएको छ’’वडाध्यक्ष माङ्गपाहाङ्गले भने,‘‘यो खोला भएर बनेका सवै सडक बगाएको अवस्था छ । सडक अवरोध हुँदा दैनिकी निकै कष्टकर बनेको छ । यहाँको क्षतिको विषयमा राज्यले ध्यान आवश्यक छ ।’’

बाढीले १६ ओटा सिंचाइ कुलोसँगै एक ओटा झोलुङ्गे पुल वगाएको छ । यो खोलामा निर्माण भईरहेको पक्की पुलमासमेत क्षति पु¥याएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए । टेम्केमैयुङ ९ लेखर्कमा बाढीले अपुरणीय क्षति गरेकोले राज्यले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । जेठ ३१ गते राती आएको बाढीले एक इन्जिनियरको ज्यानसमेत गएको थियो । ‘‘बाढीको कारण महिनौबाट यातायात सञ्चालनमा समस्या छ’’उनले भने,‘‘खोलाले धेरै ठाउँमा कटान गरेकोले कतिपय बस्तीहरु जोखिमा छन् । सिंचाई कुलो बगाउँदा किसानलाई खेति गर्न समस्या रहेको छ । यस्तो अवस्था हुँदा पनि राज्यको खासै ध्यान पुगेको देखिदैन ।’’

बाढीको कारण भोजपुर सदरमुकामबाट कोट पाँचधारे हुँदै छिमेकी जिल्ला खोटाङ जोड्ने यो सडक एक महिना बढी समयबाट अवरोध हुँदा जनजिवन कष्टकर बन्दै गएको स्थानीयबासी मानबहादुर सुनारले बताए । जनतामा ठुलो विपति पर्दासमेत राज्यको ध्यान नगएको उनको भनाइ छ ।‘‘बाढीले यति ठुलो क्षति पु¥याउदा पनि राज्य ध्यानले नदिएको जस्तो देखिन्छ’’ उनले भने,‘‘बाढीले सडक बगाउँदा दैनिक उपभोग्य वस्तुको अभाव हुने अवस्था छ । तत्काल पहिलाको सडक भएको स्थान मर्मत गर्न सकिने अवस्था छैन । वैकल्पिक मार्गको खोजी गरेर भएपनि यातायात सञ्चालनमा ल्याउन पहल हुन आवश्यक छ ।’’

विभिन्न ठाउँमा बाढीले क्षति गरेपछि स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय सन्तोष राईले बताए । छिमेकी जिल्ला खोटाङसँगै वडाका नागरिकलाई अस्पताल लैजान समस्या भएको उनको भनाइ छ । सडकको कारण अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको उनले बताए ।‘‘बाढीले सडक बगाउँदा जिल्लाको पश्चिमी क्षेत्रको जनजिवन निकै कष्टर बनेको अवस्था छ’’ उनले भने,‘‘एक गाउँबाट अर्को गाउँमा जान नसक्ने अवस्था छ । विरामीलाई अस्पताल पु¥याउन सकिने अवस्था छैन । उपचार नपाएर अकालमा ज्यान गुमाउनु पर्ने अवस्था छ ।’’

राउते खोलाको शिरमा डाँडा पाखा रहेकाले वर्षात हुने साथ आसपासको क्षेत्रमा धेरै जोखिम रहेको स्थानीयबासी टंक घिमिरेले बताए । असार ८ मा खोला थुनिएर बाढी बस्तीमा पस्दा स्थानीयको घरसँगै अन्नबालीमा क्षति पु¥याएको उनको भनाइ छ । बाढीले अहिले सडक भएको स्थान गहिराएर लगेकोले अर्को ठाउँबाट सडक विस्तार गर्न आवस्यक रहेको घिमिरेको भनाइ छ । ‘‘यो खोलाको शिर निकै ठुलो छ’’ उनले भने,‘‘खोलो थुनिएर बाढी बस्तीमा पस्दा क्षति गरेको छ । माथिल्लो भेगको धेरै ठाउँमा पहिरो गएकोले बेला जुन सुकै अवस्थामा बाढी बस्तीमा छिर्ने अवस्था छ । त्यहि स्थानबाट सडक मर्मत गरेर सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन । पहिला सर्भे भएको ठाउँबाट वैकल्कि सडक विस्तार गर्न आवश्यक छ ।’’ गाउँपालिकाले विपद् कोषबाट सडकलाई सञ्चालनमा ल्याउन पहल गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले जानकारी दिए ।

तत्काकलाई सडक सुचारुको लागि काम भईरहेको भएपनि ठुलो क्षति भएकोले राज्यका अन्य निकायबाट बजेट माग गरेर दिर्घकालिन रुपमा सडक निर्माण गर्ने योजना रहेको उनको भनाइ छ ।‘‘बाढीको कारण सो क्षेत्रको जनजिवन प्रभावित बनेको अवस्था छ’’ प्रशासकीय अधिकृत न्यौपानेले भने,‘‘स्थानीयको समस्यालाई ध्यानमा राखेर गाउँपालिकाको विपद् कोषबाट मर्मत गरेर सञ्चालनको तयारीमा जुटेका छौँ । धेरै ठाउँमा सडक बगाएको छ । गाउँपालिकाको बजेटले मात्र सबै ठाउँमा मर्मत गर्न असम्भव देखिएको छ । त्यसको लागि माथिल्लो निकायमा ध्यानकर्षण गराएका छौँ ।’’

बाढीको कारण समस्या परेका स्थानीयलाई तत्काललाई केहि आवश्यक सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिईन । पाएप वितरण गरेर खानेपानी तथा सिंचाई कुलो सञ्चालनको लागि गाउँपालिकाले पहल गरिरहेको उनको भनाइ छ । ‘‘बाढीको कारण निकै ठुलो क्षति भएको छ’’उपाध्यक्ष राईले भनिन्,‘‘सडक सुचारु गर्नको लागि काम शुरु गरेका छौँ । धेरै ठुलो क्षति भएकाले गाउँपालिकाको बजेटले धान्ने अवस्था छैन । क्षतिको विवरण संकलन गरेर प्रदेश र केन्द्र सरकारसँग आवश्यक बजेटको लागि माग गरेका छौँ । अन्य निकायसँग पनि गाउँपालिकाले आवश्यक जुटाउनको लागि पहल गरिरहेको छ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार