भोजपुर, २३ मङ्सिर ।भोजपुरको पौवादुङमा गाउँपालिकाको अरुण डाँडा(छिन्तालुङ) मा‘अरुण ‘डाँडा महोत्सब’ शुरु भएको छ । स्थानीय कृषि उत्पादन तथा धार्मिक एंव पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न छ दिने महोत्सब शुरु भएको हो । ‘‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा वाह्य पर्यटन महोत्सव’’ भन्ने मूल नारासहित अरुण डाँडा महोत्सव –२०७९ को शुरुवात गरिएको हो । मंसिर २२ गते विहिबारबाट शुरु भएको महोत्सब छ दिनसम्म सञ्चालन हुनेछ । महोत्सव गाउँपालिकाको मुख्य प्रायोजनमा शुरु भएको हो । महोत्सवले गाउँपालिकाको आर्थिक पक्षमा सहयोग पुग्ने पौवादुङमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले बताए ।
‘‘खास पहाडी क्षेत्रको स्थानीय तहहरुको आन्तरिक आयमा कमि हुने देखिएको छ’’ प्रमुख प्रशासकिय अधिकृत भट्टराईले भने,‘‘गाउँपालिकाको आन्तरिक आयमा बृद्धि गर्न पर्यटकीय क्षेत्रको विकासको लागि महोत्सब आयोजना गरेको हौँ । महोत्सबको लागि गाउँपालिकाले रु.दश लाख बिनियोजन गरेको छ । ’’ महोत्सवमा आगन्तुकहरुलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको खानाको परिकार, कृषि प्रर्दशनी, विभिन्न सँस्कार संस्कृतिको प्रर्दशनीसँगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ । अरुण डाँडाको विकासका लागि विस्तृत परियोजना तयार गरेर काम भईरहेको गाउँपालिकाले जनाएको छ । यहाँको विकासको काम भईरहेकोले थप प्रचार प्रसारको लागि महोत्सबको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए ।
‘‘हाम्रो गाउँपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ’’अध्यक्ष राईले भने,‘‘डिपीआर अनुसार अरुण डाँडालाई बृहत्तर विकास गर्न ८० रोपनी क्षेत्रमा यसको विस्तार भइरहेको छ । यो ठाउँलाई हाम्रो गाउँपालिकाको दिगो आम्दानीको श्रोतको रुपमा विकास गर्न लागि परेका छौँ ।’’ गाउपालिकाले अरुण डाँडाको प्रवद्र्धन गर्न महोत्सबको आयोजना गरेपछि स्थानीय उत्साहित बनेका छन् । महोत्सवमा पर्यटनलाई प्रवर्दन गर्ने खालका सामाग्रीहरुको स्टल, बिभिन्न भाषाभाषी र जात जातीहरुको सँस्कार झल्काउने प्रदर्शनी, स्थानीय खाना तथा स्थानीयको कृषि उत्पादनको प्रर्दशनी राखिएको छ । यसले यहाँको कृषि उत्पादनलेसमेत बजार पाउने पौवादुङमा गाउँपालिका ५ सानोदुम्माका स्थानीय ज्ञानेन्द्र राईले बताए ।
‘‘महोत्सबले हाम्रो ठाउँको प्रचार प्रसारमा टेवा पुगेको छ’’ स्थानीय राईले भन्नुभयो,‘‘हाम्रो ठाउँको पर्यटकीय क्षेत्र तथा भाषा संस्कार संस्कृतिसँगै कृषि क्षेत्रको विकासमा सहयोग पुग्ने आशा लिएका छौँ ।’’ समुन्द्रि सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको अरुण डाँडाबाट ठाउँबाट हिमालका दृश्यसँगै सुन्दर फाँटहरुको अवलोकन गर्न सकिन्छ । गाउँपालिकाले आयोजना गरेको महोत्सवले प्रचार प्रसारमासमेत थप टेवा पुग्ने स्थानीय जानकारहरुको भनाइ छ ।