
भोजपुर ७ चैत्त । गोर्खा ब्वाइज रुपन्देही भारतको अमुक्ता परिवार, पश्चिम बङ्गाललाई हराउँदै भोजपुर गोल्डकपको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ । सोमवार भएको फाइनल खेलमा पश्चिम बङ्गाललाई शून्यका विरुद्ध ५ गोल गर्दे रुपन्देही पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको विजेता बन्न सफल भएको हो । विजेता बनेसँगै रुपन्देहीले नगद ५ लाख र उपविजेता पश्चिम बङ्गालले नगद ३ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् ।
प्रतियोगिताका उदीयमान खेलाडी भोजपुरका प्रवीण राई, उत्कृष्ट गोल रक्षक रुपन्देहीका देव लिम्बु हुनुभयो भने अन्य विधामा पनि रुपन्देहीका उत्कृष्ट रक्षक एबोडे, उत्कृष्ट मिडफिल्डर सुनिल खडका, उत्कृष्ट प्रशिक्षक जग्गुनाथ खडका, सर्वाधिक गोलकर्ता यानिक र अमुक्ता परिवारका सौरभ तामाङ बन्नुभयो । गोर्खा ब्वाइज रुपन्देहीका सुशील यादव सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा अमुक्ता परिवार पश्चिम बङ्गाल भारत, आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, सगरमाथा यूथ क्लब मोरङ, राष्ट्रिय जागृति क्लब सुनसरी, भगवती स्पोर्टस क्लब खोटाङ, बसाहा क्लब उदयपुर, सतासीधाम स्पोर्टिङ क्लब झापा र गोर्खा ब्वाइज रुपन्देही गरी ८ टिमले सहभागिता जनाएका थिए ।
३० लाख २७ हजार ५५ रुपैयाँको लागतमा सञ्चालन भएको प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले २५ लाख, राष्ट्रिय वाणिज्य बैकले १ लाख र चौधरी ग्रुपले १ लाख सहयोग गरेका थिए ।



















