एमाले आमचोक गाउँपालिकाको प्रथम गाउँ अधिवेशन सम्पन्न


भोजपुर, २४ कात्तिक ।
नेकपा एमाले आमचोक गाउँपालिकाको प्रथम गाउँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट शुक्रदेव राई अध्यक्षतामा ६४ सदस्यीय गाउँ कमिटी निर्माण भएको हो । कमिटीको उपाध्यक्षमा बसन्त राई, सचिवमा नेत्र खत्री, उपसचिवहरुमा राजन विष्ट र नविन राई चयन भएको एमाले जिल्ला पार्टी सचिव मक्कर खड्काले जानकारी दिए । अधिवेशन मंगलबार नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं १ नं प्रदेश कमिटी सह–ईन्चार्ज एवं निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अथिति शेरधन राईले एमालेले सदैव जनताको पक्षमा काम गर्दै आएको बताए । विभिन्न षडयन्त्रबाट एमालेको नेतृत्वमा रहेको जनप्रिय सरकार ढालेको भन्दै राईले आगामी निर्वाचनमापछि देशमा एमालेको नेतृत्वमा सरकार बन्ने र त्यसले सुखी नेपाली र समृद्ध नेपालको चाहनालाई पुरा गर्ने बताए । एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ सह–इन्चार्ज राईले भने,‘ देशमा विकास भएको देख्न नसक्नेहरुले विभिन्न षडयन्त्रबाट एमालेको नेतृत्व गरेको लोकप्रिय सरकार ढाले । देशमा विकासको लहर चलेको अवस्थामा एमाले सरकार ढाल्नु भनेको अहिलेको गठबन्धनको जनतालाई दुःख दिने नियत हो । धेरै अदालतमा भईरहेको अहिलेको क्रियाकलापले धेरै कुरा पुष्टी भएको छ ।अहिलेकोे सरकारले गरिरहेको जनविरोधी कामलाई जनताले राम्रोसँग नियालेका छन् । अव आउने निर्वाचनबाट एमाले नेतृत्वमा सरकार बन्छ ।’

आफु मुख्यमन्त्री हुँदा जिल्लाको विकासमा धेरै कामको थालनी गरेको बताउदै ती कामले पूर्णता पाउने उनको भनाइ थियो । ‘‘म मुख्यमन्त्रीमा रहदा यहाँको विकासका लागि मैले गरेका कामका बारेमा तपाईहरु जानकार हुनुहुन्छ । धेरै महत्वपुर्ण योजनाहरुको आफैले सिलान्यास गरेर आफैले उद्घाटन गरिसकेको छु । मैले थालेका धेरै विकास योजनाहरुको काम भइरहेको छ । ती कामको पूर्णता दिनेमा मेरो पहल रहन्छ’ राईले भने ।

अधिवेशनमा एमाले जिल्ला पार्टी अध्यक्ष प्रेम कुमार राई, उपाध्यक्ष सरन राई, सचिव मकर बहादुर खड्का लगाएतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । योसँगै एमालेको आठ ओटा स्थानीय तहको अधिबेशन सम्पन्न भएको छ । शेरधन राईकै प्रमुख आथित्यतामा विहिबार षडानन्द नगरपालिकाको अधिवेशन सम्पन्न गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार