टेम्केमैयुङका अपाङगता भएकाहरुले पाए सहायक सामग्री


भोजपुर, ८ भदौ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा अपाङगता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरिएको छ । गाउँपालिका, करुणा फाउण्डेशन नेपाल र प्रदेश १ सामाजिक विकास मन्त्रालयको समन्वयमा उनीहरुलाई सहायक समाग्री वितरण गरिएको हो ।
एक कार्यक्रमका बीच छ जना अपाङगता भएका व्यक्तिलाई आवश्यकताको आधारमा ह्वील चियर वैसाखी लगाएतका सहायक सामग्री वितरण गरिएको करुणा फाउण्डेशन भोजपुरकी फिजियोथेरापिष्ट रश्मी तिमल्सिनाले जानकारी दिइन् ।

केही समय अगाडी अपाङ्गता भएका व्यक्तिहरुका लागि गाउँपालिकाका नौ ओटै वडामा सञ्चालन भएको निःशुल्क शिविरमा स्वास्थ्य परीक्षण गराई पहिचान भई दक्ष चिकित्सकबाट सिफारिस भएका गाउँपालिका भित्रका ८७ जना मध्ये छ जनालाई सामग्री दिइएको र बाँकीलाई पनि चाडै वितरण गर्ने तयारी भएको उनले बताइन् ।

सबैलाई स्थानीय तहको केन्द्र मार्फत दिने भनियता पनि भौगोलिक विकटताका कारण आउन सम्भव नभएकाले बाँकी भएका व्यक्तिहरुलाई वडा मार्फत वितरण गर्ने उनको भनाइ छ । त्यस्तै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका बाहेका स्थानीय तहका अपाङ्गता भएका व्यक्तिलाई पनि सहायक सामग्री चाडै वितरण गर्ने फिजियोथेरापिष्ट तिमल्सिनाले जानकारी दिइन्। षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामा भने शिविर सञ्चालन गर्नका लागि तयारी भइरहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार