भोजपुर, १५ चैत ।
पौवादुङमा गाउँपालिकाले मौरीपालनमा प्रोत्साहन गर्ने उद्धेश्यले कृषकहरुलाई सात दिने व्यवसायीक तालिम दिएको छ । गाउँपालिकाले कृषकलाई मौरी सहितको ७७ घार वितरण गर्नु पूर्व उनीहरुलाई व्यवसायिक तालिम दिएको हो ।
यस वर्ष मौरीपालनको लागि छनौटमा परेका गाउँपालिका भित्रका २८ जना कृषकलाई आधुनिक घारमा आधुनिक तरिकाले मौरीपालनका
विषयमा जानकारी दिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिए।
साथै उनीहरुलाई बजार व्यवस्थापन, मह उत्पादन तथा मौरीका घारहरु वृद्धिका बारेमा समेत जानकारी दिईएको प्रमुख राईको भनाइ छ । उनीहरुलाई आवश्यक सामग्री समेत दिइएको राईको भनाइ छ । यस अघिका वर्षहरुमा पनि कृषकलाई मौरीपालनमा लाग्नको लागि घार तथा गोला सहितको मौरी वितरण गर्दै आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा २५० ओटा घार र आर्थिक वर्ष २०७६/७७ मा ४७ ओटा घार सहितको मौरी वितरण गरेको हो । मोरीपालनमा लागेका कृषकलाई स्वरोजगारसंगै आर्थिक रुपमा आत्मानिर्भर बनाउने उद्धेश्यले काम भईरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
अध्यक्ष राईले भने,‘हाम्रो क्षेत्रमा मौरीको राम्रो सम्भावना छ, धेरै कृषकहरुले पराम्परागत रुपमा भएपनि मौरीपालन गर्दै आउनुु भएको छ । उहाँहरुलाई थप पोत्साहन गर्न गाउँपालिकाले आर्थिक तथा प्रावधिक सहयोग गर्दै आएको छ । मौरीपालनको लागि आवश्यक चरण क्षेत्र विस्तार गर्दै गाउँपालिकामा नै प्रशोधन केन्द्र स्थापना गरेर आफ्नै ट्याग लगाएर बजारमा मह पठाउने लक्ष्य छ ।’
गाउँपालिका उपाध्यक्ष सम्झना राईले कृषकलाई आवश्यकताको आधारमा गाउँपालिकाले सहयोग गर्दै आएको धारणा राखिन् । साथै उनले कृषकहरुलाई सृजनशिल भएर व्यवसायमा लाग्न समेत आग्रह गरिन् ।
उपाध्यक्ष राईले भनिन्,‘तपाईहरुलाई व्यवसायीक बनाउनको लागि गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको छ, । व्यवसायीक रुपमा मौरीपालनमा लाग्नु भएका तपाईहरुको आवश्यकताको आधारमा गाउँपालिकाले सहयोग गर्नेछ, गाउँपालिकालाई मौरीपालनको पकेट क्षेत्रको रुपमा विस्तार गर्ने योजनाका साथ हामीले काम गरिरहेका छौ, विषेश गरेर गाउँपालिकाको ४, ५ र ६ वडामा यसको सम्भावना रामो छ ।