भोजपुरमा पहिलो पटक ‘लाहा’ खेतीको शुरुवात


भोजपुर, १५ मंसिर ।
भोजपुर जिल्लामा पहिलो पटक लाहा खेतीको शुरुवात गरिएको छ । नीजि, सामुदायिक तथा कबुलियति बनलाई आयमुलक बनाउने लक्ष्यका साथ डिभिजन वन कार्यालय भोजपुरले लाहा खेतीको थालनी गरेको हो । विषेश गरेर बढी तापक्रम तथा सुख्खा ग्रस्थ क्षेत्रमा पाइने खयर, बयर लगाएत रुखको संरक्षण तथा उपभोक्ताको आयस्तर सुधार गर्न यस्तो अभियानको थालनी गरिएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ ।

कार्यालयले अरुण गाउँपालिकामा रहेका तीन ओटा सामुदायिक वन र नीजि वनमा परिक्षणको रुपमा लाहाको खेती थालनी गरेको हो । विज्ञहरुको समूहसहित धनकुटा जिल्लाबाट विउ ल्याएर रुखको हाँगामा लाहा उत्पादन गर्ने लाहीकिरा (व्रुण)हरु छाडेर यसको थालनी गरिएको जिल्ला डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । प्रमुख घिमिरेले भने,‘ भोजपुरमा पहिलो पटक लाहा खेतीको सुरुवात भएको छ, मैले यहाँको कार्यालय प्रमुखको जिम्मेवारी लिए पस्चात पहिलो पटक यसको थालनी गरेको छु, यहाँका तल्लो तटिय क्षेत्र अर्थात बेँसीभेगका वनमा यसको सम्भावना धेरै रहेको छ, यसको व्यवसायिक खेती गर्न सकेमा राम्रो आम्दानी लिन सकिन्छ भने यो लगाई सकेपछि हाँगा काट्न नमिल्ने भएकोले बनको पनि संरक्षणमा टेवा पुग्छ ।’
लाहाको कच्चा पदार्थ प्रतिकेजी रु २५० सम्ममा विक्री हुने र यसको प्रशोधन गरे पस्चात प्रतिकेजी एक हजार ८०० देखी दुई हजार सम्ममा विक्री हुने गरेको उनले जानकारी दिए । ‘यसको खेतीमा खास धेरै मेहनत गर्नु पर्दैन, एक पटक लगाएपछि वर्षमा दुई पटक संकलन गर्न सकिन्छ । प्रशोधन गरीसकेपछि यसको बजार मुल्य दुई हजारसम्म पर्छ, फर्निचर कारखाना, सुन पसल लगाएत अन्य विभिन्न काममा प्रयोग हुने लाहा अहिले भारतिय बजारबाट आउने गरेकोले स्वदेशमा नै यसको उत्पादन गर्ने उद्धेश्यले यहाँ पनि लगाउन शुरु गरेका हौँ’’ । प्रमुख घिमिरेले भने ।
यस अघि लगाएका ठाउँमा एउटा रुखबाट १०० केजीसम्म संकलन गरेको किसानहरुले बताउने गरेको उनले जानकारी दिए । तल्लो भेग तथा नदी खोलाका किनार एंव तिनिहरुको आसपासका खयर, बयर, मौवा लगाएतका प्रजातीका रुख भएका जंगल उपयुक्त रहेको कार्यालयले जनाएको छ । रुखको हाँगामा लाहा उत्पादन गर्ने लाही किरा (व्रुण)हरु छाडिएको हो । अहिले शुरुवात गरेकोले भविष्यमा राम्रो भएमा आगामी दिनमा सरोकारवाला अन्य पक्षसंग सहकार्य गरेर विस्तार गर्ने कार्यालयले जनाएको छ ।
निजी तथा विभिन्न सामुदायिक बनमा यसको विउ लगाएको हो । विषेश गरेर खयर, बयरमा उत्पादन भएको लाहाले राम्रो मुल्य पाउने भएकोले सो प्रजातीका रुखलाई प्राथामिकतामा राखिएको छ । अन्य प्रजातीका रुख भन्दा खयर र बयरमा उत्पादन भएको लाहाको बजार मुल्य राम्रो रहेको झापामा लाहाको उद्योग सञ्चालन गर्दै आउनु भएका विज्ञ डम्बर विकले जानकारी दिए । विकले भने,‘मैले भारतमा १५ वर्ष बढी लाहा उत्पादन गर्ने कम्पनीमा काम गरेको अनुभव छ , नेपालमा पनि यसको सम्भावना धेरै छ, यहाँ राम्रो उत्पादन गर्न सके भारतबाट यसको आयात रोक्न सकिन्छ’ ।
यसलाई व्यवसायिक रुपमा खेती गर्न सके आयस्तर राम्रोहुने बनसंग सम्वन्धित कार्यालयहरुको भनाइ छ । यसले सुख्खा क्षेत्रका सामुदायिक तथा निजि क्षेत्रका उपभोक्ताको आयस्तरमा वृद्धि हुने तथा बनको संरक्षण हुन् सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ (फेकोफन) भोजपुरका अध्यक्ष राजन राईले बताए । लाहाको उत्पादन राम्रो गर्न सकेमा सामुदायिक वनको आर्थिक अवस्थामा सुधार हुने उनको भनाइ छ । अध्यक्ष राईले भने,‘वन कार्यालयले थालनी गरेको यो अभियान निकै राम्रो छ, लाखौँ लाख आम्दानी गर्न सकिने वन अहिले घाँस, दाउराको लागि मात्र प्रयोग हुँदै आएको अवस्था छ, यसलाई ती वनमा विस्तार गर्न सके राम्रो आम्दानी लिन सकिने रहेछ भने वनको पनि संरक्षण हुने देखियो ।’
वन कार्यालयले पहिलो पटक लाहा खेतीको थालनी गरेकोमा स्थानीय उत्साहित भएका छन् । परिक्षण गरिएको रुखबाट उत्पादन राम्रो भएमा थप विस्तार गर्ने अरुण गाउँपालिका –७ का बुद्धि खड्काले बताए । जिल्लाको पूर्वी र दक्षिण क्षेत्रका नदी, खोला किनार तथा स्थानीय निजी जग्गामा खयर तथा बयर प्रशस्त रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार