
भोजपुर, २८ जेठ ।
लकडाउनको समयमा म्याद गुज्रिएका सामग्री विक्री गर्ने खाद्य पसललाई जिल्ला प्रशासन कार्यालय भोजपुरले बन्द गर्न लगाएको छ । कोरोनाको महामारीको समयमा जिल्लाका विभिन्न स्थानमा रहेका पसलहरुको छड्ने अनुगमन गर्दा उपभोक्ताले गुनासो गरे अनुसार म्याद गुज्रिएका बस्तु फेला परेपछि विक्रि वितरणमा रोक लगाइएको हो ।
कोरोना भाइरस (कोभिड–१९) ले देश संटकमा रहेको अवस्थामा भोजपुरमा अखाद्य बस्तुको विक्री वितरण गर्ने पसलहरुको तत्काललाई विक्री वितरणमा रोक लगाइएको हो । प्रशासनले सदरमुकामसंगै आसपासका क्षेत्रका २२ भन्दा बढी पसल सञ्चालनमा रोक लगाएको हो । ग्रामिण भेगमा बढी मात्रामा सामान विक्री गर्ने भोजपुरको दावा बलौटेमा रहेको लक्ष्मी किराना पसल, यमुना स्टोर, सदरमुकामा रहेका कान्तिपुर किराना पसल, विमार्ट, विद्याधारी किराना पसल , गरी २२ वटा पसलको तत्काललाई विक्रीमा रोक लगाएको हो ।
विक्रिका लागि राखिएका चामल, दाल, तेल, लगाएत सामग्रीमा उपभोग्य मिति, उत्पादन मिति लगाएत फेला नपरेपछि बन्द गरिएको जिल्ला प्रशासनको भनाइ छ । सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले भने, ‘ व्यापारीले अखाद्य वस्तु विक्री वितरण गरिरहेको व्यापक जनगुसानो आएपछि हामीले बजार अनुगमनलाई तिव्रता दिएको छौ, यो अवधीमा २२ बढी पसलको विक्री वितरण रोक लगाएर स्पष्टिकरण सहित छलफलका लागि बोलाएका छौ, विशेष गरेर ग्रामिण क्षेत्रमा अखाद्य वस्तु विक्री हुने गरेको सूचना आएपछि हामीले त्यस्ता पसललाई मध्ये नजर गर्दै अनुगमन गरिरहेका छौ, यसै क्रममा दावाको बलोटेमा यस्तो पसल भेटियो, जहा ५०० बोरा बढी चामलमा उत्पादन मिति छैन, तर एक वर्ष सम्म खान मिल्ने भनिएको छ, कुनै लेबल छैन, अधिकांश सागम्रीको म्याद भेटिएन यो उदाहरण मात्र हो, सर्वसाधरणको स्वास्थ्यमा खेलवाड गर्ने त्यस्ता धेरै पसल छन् त्यस्तालाई कारवाहीको दायरा ल्याउछौ ।’ पछिल्लो समयमा लकडाउनको मौका छोप्दै उपभोक्ताहरु ठग्ने प्रवृतिबढेसंगै प्रशासनले निग्रानी बढाएको हो ।
यो अवधीमा सदरमुकामसंगै आसपासका क्षेत्रहरु सुन्तले, दाँवा बलौटेमा रहेका पसलबाट करिब ६५ हजार बरावरको खाद्य सामग्री नश्ट गरिएको अनुगमन समितिले जनाएको छ । कानुन विपरित अखाद्य बस्तु विक्री गर्ने पसललाई कानुनी दायरा ल्याईने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले जनाएको छ । म्याद गुज्रिएको विक्री गरेमा ५० हजार सम्म जरीवाना र ५ वर्ष सम्म जेल सजाय हुन सक्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रमुख शिवशंकर मिश्रले बताए ।
बन्द भएका पसलका सञ्चालकहरुलाई स्पष्टिकरण सहित जिल्ला प्रशासन कार्यालयमा छलफलको लागि वोलाइने जनाईएको छ । व्यापारीहरुले सदरमुकाम क्षेत्रमा फेला परेका म्याद गुज्रिएका सामग्री बद्नियतले दुर्गम क्षेत्रमा पठाउने गरेको समेत तथ्य फेला परेको छ । निरन्तर म्याद गुजिएका सामग्री विक्री गरिरहेका व्यापारीहरुले अनुगमनमा फेला परेपछि भने कोदामले नै म्याद गुज्रिएको सामग्री पठाई दिने भन्दै पन्छिने गरेका छन् ।




















