लकडाउनमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पौवादुङमा गाउँपालिकाले दिन्छ ‘दैनिक भत्ता’


भोजपुर, ५ जेठ । भोजपुरको पौवादुङमा गाउँपालिकाले लकडाउनको समयमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दैनिक खाजा भत्ता  वितरण गर्दै आएको छ । कार्यस्थलमा दिनरात खटिएका उनीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ भत्ता वितरण थालिएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले बताईन । उपाध्यक्ष राईले भनिन्,‘कार्यस्थलमा दिनरात खट्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने उद्धेश्यले गाउँकार्यपालिकाको निर्णय अनुसार उनिहरुलाई दैनिक खाजा भत्ता  दिँदै आएका छौ ।’ गाउँपालिकाको निर्णय अनुसार सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका इन्चार्जले दैनिक रु. तीन/तीन सय र अन्य सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले रु. दुई/दुई सयका दरले भत्ता पाउँदै आएका छन् । त्यस्तै इन्चार्जहरुले महिनामा रु. एक हजार र स्वास्थ्य स्वयम सेविकाले रु. पाँच सयका सञ्चार खर्च समेत पाउँदै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले इलाका प्रहरी कार्यालय तिवारीभञ्याङ, प्रहरी चौकी बास्तीम, प्रहरी चौकी च्याङ्ग्रेका तीन इन्चार्ज सहित ४१ जना सुरक्षाकर्मीलाई भक्ता दिदै आएको छ । त्यस्तै स्वास्थ्य चौकीहरु श्यामशिला, तिवारीभञ्याङ, बास्तीम, च्याङ्ग्रे, सानोदुङमा र ठुलोदुङमाका ६ जना इन्चार्ज सहित ३५ जना स्वास्थ्यकर्मीले पनि भत्ता  पाउँदै आएका छन् । त्यस्तैगरी गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्ने ठुलोदुङमाको फत्तेपुर, सानोदुङमाको अधेँरीघाट र सिक्रेमा पर्ने मुख्य सीमा नाकामा रहेका तीन जना हेरालुहरुलाई दैनिक रु. एक हजार भत्तासंगै रु. एक हजार सञ्चार खर्च र ५४ जना स्वास्थ्य स्वयम सेविकालाई मासिक रु. पाँच सयका दरले सञ्चार खर्च दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश राईले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गाउँपालिकाका सवै घर-घरमा स्वास्थ्यकर्मीले जाँच गर्ने व्यवस्था मिलाएको उपाध्यक्ष राईले राईले बताईन । गाउँपालिकाले सवै स्वास्थ्य चौकीमा नेपाल सरकारले दिएको ३५ प्रकारका औषधी वाहेक अन्य थप नौ प्रकारका औषधी खरिद गरेर वितरण गरेको उनको भनाई छ । ‘कोरोनाको यो अवस्थामा गाउँपालिका गम्भिर भएर लागेको छ, हामीले गर्भवती महिलालाई क्याल्सियम र किशोरीहरुलाई आइरन चक्की नियमित रुपमा वितरण गर्ने व्यवस्था मिलाएका छौ ।’ उनले भनिन्,

गाउँपालिकाले कार्यसम्पादनलाई ध्यानमा राख्दै भत्ता वितरण गरेकोले दैनिक काम गर्न सहज भएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानु दाहालले बताए । संयोजक दाहालले भने,‘अन्य ठाउँमा यस्तो सुविधा छैन, गाउँपालिकाले गरेको यो निर्णयले हामीलाई काम गर्नमा मनोबल थपिएको छ, भने कार्यस्थलमा खट्न समेत सहजता छ ।’ गाउँपालिकाका अनुसार गत वैशाख महिना सम्म करीब रु. सात लाख रुपैंया भत्ता बापत निकासा भईसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार