
भोजपुर, ६ माघ ।
पछिल्लो समयमा सवारी साधन प्रति स्थानीयको मोह बढ्दै गएको छ । स्थानीय स्तर सम्म सडक सञ्जाल जोडिएसंगै सवारी साधन सिक्ने संख्या बढ्दो छ । तर जिल्लामा सवारी साधन सिक्नको लागि कुनै पनि प्रशिक्षण केन्द्र नहुँदा भने स्थानीयलाई निकै सास्ती थियो । तर केहि समय अघिबाट आधिकारीक रुपमा पाथिभरा ड्राइभिङ सेन्टर सञ्चालनमा आएपछि सवारी सिक्नको लागि सहजता थपिएको हो । सेन्टर खुलेसंगै ठुलो खर्च गरेर सवारी साधन सिक्नका लागि धरान, विराटनगर तथा काठमाण्डौ धाउनु पर्ने स्थानीयको वाध्यता हटेको छ । जसबाट स्थानीयको समय र खर्चको बचत भएको छ । स्थानीय प्रशिक्षार्थी भिम बहादुर तामाङले भने ‘ पछिल्लो समय हाम्रै जिल्लामा ड्राइभिङ सेन्टर खुलेपछि धेरै सहज भएको छ, सवारी साधन सिक्नको लागि महङ्गो खर्चमा धरान, विराटनगर, काठमाण्डौ जाने बाध्यता हटेको छ, यहि सवारी साधन सिक्न जानको लागि हाम्रो लाखौ खर्च हुने गर्दथ्यो ।’
आफ्नै ठाउँमा सहज रुपमा सवारी साधनको सीप लिन पाउँदा स्थानीय युवाहरु खुसी भएका छन् । स्थानीय तहहरुले युवाहरुलाई स्वरोजगार बनाउनका लागि यस्ता खालका सवारी साधन सञ्चालन तालिम राख्नु पर्ने स्थानीयको भनाई छ । जसले सहज रुपमा जिल्लामा सवारी साधन सिकेर उनीहरु स्वरोजगार बन्न सक्ने आउनेहरुले बताउने गरेका छन् । भोजपुर नगरपालिका –७ का प्रशिक्षार्थी समिर मोक्तानले भने‘ आफ्नै ठाउँमा सीप सिक्न पाउनु निकै राम्रो अवसर हो, यसरी सीप सिकेपछि स्वरोजगार बन्न टेवा पुग्ने देखिन्छ, स्थानीय सरकारले आगामी दिनमा युवाहरुलाई स्वरोजगार बन्ने खालका कार्यक्रम ल्याउन आवश्यक छ।’
सदरमुकामबाट दुई किलोमिटर पश्चिमा स्थानीय युवा सुमन प्रधानले १२ लाख लगानीमा ५ रोपनी जग्गा १० वर्षको लागि लिजमा लिएर सेन्टर सञ्चालनमा ल्याएका हुन् । सेन्टरमा दक्ष प्रशिक्षकबाट सुलभ शुल्कमा आधारभुत, मध्यम, घण्टे तथा पूर्ण कोर्ष सिकाउने सञ्चालकको भनाइछ । शुरुवाती चरणमै सवारी सिक्नेको सख्या धेरै रहेकाले त्यसलाई समय निर्धारण गरेर प्रशिक्षण दिँदै आएको सेन्टरले जनाएको छ । पाथिभरा ड्राइभिङ सेन्टरका सञ्चालक सुमन प्रधानले भने‘ स्थानीयको सेवालाई ध्यानमा राखेर सेन्टर सञ्चालनमा ल्याएको हँु यस प्रति स्थानीयको मोह बढ्दै गएको छ।’
पछिल्लो समय विना सीप सवारी साधन चलाउदा जिल्लामा दुर्घटना हुने सम्भावना पनि धेरै छ । स्थायी रुपमा निरन्तरताको लागि सरोकारवाला पक्षले पनि आफ्नो ठाउँबाट आवश्यक सहयोग र समन्वय गर्नु पर्ने स्थानीयको भनाइछ ।




















