
भोजपुर, १४ मङ्सिर। भोजपुरको पौवादुङमा गाउँपालिका –१ श्यामशिलामा वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचन सौहार्दपूर्ण रुपमा सम्पन्न भएको छ । कडा सुरक्षाको विच भएको मतदानमा ८२ बर्षीया बृद्धा धनमाया राईले पनि मतदान गरेकी छन् । मतदान सम्पन्न भएसंगै मतपेटिका गाउँपालिका केन्द्र च्याङ्ग्रेमा लगिएको छ । कुल मतदाता एक हजार ६१६ मध्ये ५९ दशमलव ७२ अर्थात नौ सय ६५ मत खसेको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिए । सर्वपक्षिय बैठक सम्पन्न भएपछि आज नै मतगणना कार्य शुरु हुने उनले बताए । वडा अध्यक्ष पदको लागि नेकपाको तर्फबाट जितेन्द्र राई, नेपाली काङग्रेसको तर्फबाट समरबहादुर कार्की र मंगोल नेसनल अर्गजनाईजेसनको तर्फबाट कला राईले उमेदवारी परेको छ । उपनिर्वाचनमा एक हजार ६१६ जना मतदाता मध्ये ८९२ महिला र ७७४ जना पुरुष रहेका छन् । मतदान स्थलको सुरक्षाको लागि सुरक्षाको सबै सम्यन्त्र परिचालन गरिएकोले कुनै पनि अवान्छित गतिविधि नभएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए ।




















