भोजपुर,२ मंसिर ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरलाई नमुना जिल्ला बनाउन गुरुयोजना तयार गरिने बताउनु भएको छ । आफु भोजपुरको प्रतिनिधित्व गर्दै मुख्यमन्त्री भएको बताउदै उहाँले जिल्लालाई नमुना जिल्ला बनाएर छाड्ने बताउनुभएको हो । जिल्लाका सम्पूर्ण समस्याको विषयमा जानकारी रहेको बताउदै राईले भन्नुभयो‘‘ मैले प्रदेशको विकास गर्नु त छदैछ, तर हाम्रो जिल्लामा कुन ठाउँमा कस्तो समस्या छ, भन्ने विषयमा पनि म जानकार छु, अब यहाँको हर क्षेत्रको विकासका लागि ६ महिना भित्र गुरुयोजना बनाएर काम शुरु हुन्छ ।’’
प्रदेश सरकार अन्तर्गत बन्न लागेको पिखुवा खोलाको पक्की पुल र भोजपुर रंगशालाको शिलान्यास गर्न आइतबार गृह जिल्ला आउनु भएका राईले अब बजेटका कारण कुनै पनि विकासका काम प्रभावित नहुने समेत बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो‘‘ बजेट अभावको कारण कुनै पनि काम प्रभावित हुँदैन, तर कामलाई प्रभावकारी र गुणस्तरीय ढंगले सञ्चालन गर्न आवश्यक छ, यसमा जनताको खवरदारीको आवश्यक छ।’’
विकास निर्माणको कामलाई प्रभावकारी वनाउन उच्चस्तरीय सम्यन्त्र गठनको तयारी भईरहेको बताउदै उहाँले कमिसन र भष्ट्रचारमा शुन्य सहनशिलता कायम गर्ने बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो‘ कमिसन र भष्ट्रचारमा मैले शुन्य सहनशिलताको नीति लिएको छु यसको विषयमा मलाई कुनै पनि माध्यमबाट जानकारी आएमा एक घण्टा भित्र कारवाही गर्छु ।’’संघियता कार्यान्वयनसंगै जनताले विकासको अनुभुति गर्न पाएको बताउदै उहाँले सवै जनतालाई राज्यको सुविधामा जोडने समेत बताउनुभयो । ‘‘ अहिले हाम्रो घर छेउमा सरकार छ, त्यो भन्दा अलिक पर प्रदेश सरकार छ, स्थानीय सरकारले गर्न नसकेको कामको जिम्मा प्रदेश सरकारले लिएको छ , यस तबरले जनताको घर घरमा सुविधा जोडिएको छ । ’’
आफ्नो कार्यकाल भित्र जिल्लामा आवश्यक पक्की पुल र सडक निर्माणको काम प्रदेश सरकारले पुरा गर्ने समेत मुख्यमन्त्री राईले बताउनुभयो । ‘‘ भोजपुरलाई सडक, विद्युतसंगै अन्य विकास निर्माणका काममा मेरो ध्यान गएको छ, हालम्म १३ ओटा पुलको निर्माण प्रक्रिया शुरु भएको छ, भने मुख्य सडक निर्माणको काम पनि अघि बढेको छ, यो जिल्लाबासीको लागि खुसीको कुरा हो ।’’ उहाँले भन्नुभयो ।