काठमाडौं, ३० असोज । लोकसेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाएको छ। ती पदका लागि ६ सय संख्याको विज्ञापन बुधबार प्रकाशन गरिएको हो। आयोगका अनुसार यति ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाइएको यो पहिलोपटक हो।
दुई वर्षदेखि आयोगले ती पदमा विज्ञापन खुलाएको थिएन। आयोगले बढुवा र प्रतियोगिता गरी दुई प्रणालीबाट विज्ञापन खुलाएको छ। बढुवामा पनि दुई प्रणाली अपनाइएका छन्। जसमा कार्यसम्पादन मूल्यांकन र अनुभव तथा कार्यसम्पादन तथा अनुभवलाई आधार बनाइएको छ। प्रतियोगितामा पनि दुई प्रणाली नै अपनाइएका छन्। जसमा आन्तरिक र खुला प्रतियोगितालाई आधार बनाइएको छ।खुला प्रतियोगितमा सहसचिवमा ४१ र उपसचिवमा २२ पदमा विज्ञपान माग गरेको छ। निजामती सेवाबाहिर रहेकाले खुला प्रतियोगितामा ती पदमा आवेदन दिन चाहे उपसचिव पदमा संगठित संस्थामा कम्तीमा पाँच वर्ष अधिकृत तहमा काम गरेको अनुभव र सहसचिव पदमा कम्तीमा सात वर्ष अधिकृत तहमा काम गरेको अनुभव हुनुपर्ने व्यवस्था राखिएको आयोगले जनाएको छ।
निजामती सेवाबाहिर रहेका व्यक्तिले सहसचिव र उपसचिवमा आवेदन दिन चाहे भने उमेरको हद ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ। सरकारी स्कुल, कलेज, संस्थान, सामुदायिक कलेज, सामुदायिक स्कुललगायत संगठित संस्थामा अधिकृत तहमा कम्तीमा पाँच र सात वर्ष काम गरेकाले उपसचिव र सहसचिवमा आवेदन दिन सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।




















