मोरङ । मोरङको रंगेली अस्पतालमा आउने सेवाग्राही चिकित्सक अभावको मारमा परेका छन् । अस्पतालमा चिकित्सक अभाव हुँदा लाखौं मूल्यका उपकरणहरू स्टोरमै थन्किएका छन् । विगतमा यो अस्पतालबाट आईसीयू, एनआईसीयू सेवा उपलब्ध हुँदै आएको थियो । तर अहिले ती सबै सेवा बन्द छन् । अस्पतालमा ६ शैय्याको आईसीयू र ३ शैय्याको एनआईसीयूका उपकरणहरू थन्किएर बसेको अस्पतालका सूचना अधिकारी गोविन्दबहादुर कटुवालले बताए । साविकको जिल्ला अस्पताल हुँदा रंगेली अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागू भएको थियो । त्यतिबेला अस्पतालबाट नियमित रूपमा प्रसूति सेवा उपलब्ध हुन्थ्यो । तर रंगेली जिल्ला अस्पतालबाट नगर अस्पतालमा घटुवा भएसँगै समस्या थपिएको उनले बताए । हाल रंगेली नगरपालिकाको मातहतमा रहेको अस्पतालले चिकित्सको अभावमा प्रसूति सेवा नियमित गर्न सकेको छैन, जस कारण नियमित स्वास्थ्य जाँचमा पुग्ने बिरामीहरू निराश भएर घर फर्किन बाध्य भएको स्थानीय विनीता देवीले बताइन् । अस्पतालमा कार्यरत प्रसूति रोग विशेषज्ञ डा। प्रियंका मिश्राले राजीनामा दिएपछि यो सेवा प्रवाहमा समस्या भएको बताइएको छ । रंगेली जिल्ला अस्पताल हुँदा ५० शैय्याको थियो । अहिले स्थानीय तहको मातहतमा गएपछि २० शैय्यामा सीमित भएको छ । बिरामीको निकै चाप हुने अस्पतालमा आवश्यक जनशक्तिको अभावमा गुणस्तरीय स्वास्थ्य सेवा दिन नसकिएको अस्पतालका स्वास्थ्यकर्मी प्रवीणराज भण्डारीले बताए ।
जिल्ला अस्पताल हुँदा ४६ जनाको दरबन्दी रहेको यो अस्पतालको दरबन्दी अहिले २८ जनाको छ । त्यसमध्ये पनि २० जना मात्र कर्मचारी कार्यरत छन् । कर्मचारी समायोजनपछि चिकित्सकहरू रंगेली अस्पतालमा आउन मानेका छैनन् । अस्पतालमा अहिले बहिरंग र आकस्मिक सेवा सीमित मात्रामा सञ्चालित छन् । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य उपचार नहुँदा विराटनगरका ठूला निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गराउन सेवाग्राही बाध्य छन् ।