काठमाडौ , २८ भाद्र । लामो समयको प्रयासपछि बल्ल नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी औपचारिक रूपमा कार्यान्वयनमा आएको छ । मलेसियाको क्वालालम्पुरमा दुवै देशको प्राविधिक समितिका प्रतिनिधि सहभागी बिहीबारको बैठकमा नयाँ समझदारीअनुसार नेपाल कामदार आपूर्ति गर्नेसम्बन्धी सहमति भएको हो । नेपाल र मलेसिया सरकारबीच गत १२ कात्तिकमा श्रम समझदारी भएको थियो ।
यसअघि धेरैपटक भएको वार्ता र छलफलको आधारमा नयाँ समझदारीअनुसार कामदार लैजाने विषयमा मलेसियासँग सहमति भएको हो । नेपालको तर्फबाट सो बैठकको नेतृत्व गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा।रामप्रसाद घिमिरेले यस नयाँ समझदारी कार्यान्वयन भएको बारे जानकारी गराएका हुन् । उनले अहिलेदेखि औपचारिक रूपमा श्रम समझदारी कार्यान्वयनको प्रक्रिया अघि बढेको बताए ।
मन्त्रालयका अनुसार नयाँ श्रम समझदारीका प्रावधान प्रभावकारी कार्यान्वयन गर्न मलेसिया तयार भएसँगै अब आगामी एक साताभित्र नेपाली कामदार यस नयाँ समझदारीको नयाँ प्रावधानअनुसार मेलेसिया जाने छन् ।
मलेसिया जाने कामदारले अब कुनै पनि शुल्क तिर्नुपर्ने छैन । मलेसियासँगको समझदारीले रोजगारदाताले नै सम्पूर्ण लागत बेहोर्ने विषयलाई स्पष्टसँग सम्बोधन गरेको छ । समझदारी कार्यान्वयन गर्ने सिलसिलामा यसअघि मलेसियन सरकार पक्षले विभिन्न बखेडा झिकेपछि अझैसम्म सो समझदारी पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको थिएन ।
मलेसियाले प्राविधिक कमिटीको बैठक बोलाउन निकै आलटाल गर्दै आएको थियो । पहिलो प्राविधिक कमिटीको बैठक समझदारी लगत्तै काठमाडौंमा बसेको थियो । श्रम समझदारी भएको ११ महिना बितिसक्न लाग्दासमेत सो समझदारीको भावनाअनुसार कामदार मलेसिया जान सकेका थिएनन् ।
मलेसिया जाने कामदारले अब कुनै पनि शुल्क तिर्नुपर्ने छैन । मलेसियास“गको समझदारीले रोजगारदाताले नै सम्पूर्ण लागत बेहोर्ने विषयलाई स्पष्टस“ग सम्बोधन गरेको छ
स्वास्थ्य परीक्षण गर्ने सीमित संस्थालाई नै मलेसियाले मान्यता दिन खोजेपछि मलेसिया रोजगार थप जटिल बनेको थियो । मलेसियाले निकै ढिला मात्र स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मापदण्ड पठाएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारले पठाएको मापदण्डअनुसार १२२ वटा स्वास्थ्य संस्था सूचीकृत गरी पठाइसकेको छ ।
यसअघि नेपालले नयाँ स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई मान्यता दिन पटकपटक आग्रह गरे पनि मलेसियाले बेवास्ता गर्दै आएको थियो । प्राविधिक कमिटीको बैठकमा नयाँ थप भएका स्वास्थ्य संस्थाको ‘अडिट’ गर्न आगामी नोभेम्बरको पहिलो साता मलेसियन टोली नेपाल आउने सहमतिसमेत भएको छ । मलेसियाले गर्ने ‘अडिट’ पास भएपछि ती संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनेछन् ।
अहिले नेपालले भने ती स्वास्थ्य संस्था स्वयं मलेसिया सरकारले दिएको मापदण्डभित्र परिसकेकाले सबैलाई स्वास्थ परीक्षणको अनुमति दिनुपर्ने अडान राखेको छ । सो बैठकमा नेपालको तर्फबाट श्रम मन्त्रालयका सहसचिव घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल र मलेसियाको तर्फबाट त्यहाँको मानव संसाधन मन्त्रालयका नीति महाशाखका प्रमुख बेट्टी हसन नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो ।
यस्तो छ समझदारीमा
नेपाल र मलेसियाबीच भएको नयाँ समझदारीअनुसार मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, प्रवेशाज्ञा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत खर्च सम्बन्धित रोजगारदाताले नै बेहोर्ने छन् । विगतमा नेपाली कामदारसँग लिइँदै आएको अतिरिक्त शुल्क समझदारीपछि नलाग्ने स्पष्ट व्यवस्था गरिएको छ ।
मलेसियामा कार्यरत नेपाली कामदारले आफ्नो परिवारको निकटम् सदस्य ९बाबु, आमा, श्रीमान् वा श्रीमती, छोरा वा छोरी० को मृत्यु भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउने प्रावधान समावेश गरिएको छ । यसैगरी, कार्यस्थलमा हुने कामदारको दुर्घटना बिमा र स्वास्थ्य बिमालाई मलेसियाको कानुनले कामदारको सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारका हकमा समेत लागू हुनेछ । वैदेशिक रोजगारीका क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली दूतावासलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुनेछ । नेपाली कामदारलाई मलेसियाको श्रम कानुनबमोजिम समान तहमा काम गर्ने अन्य विदेशी कामदारलाई दिइएसरहको संरक्षण मलेसिया सरकारले प्रदान गर्ने यस समझदारीपत्रमा उल्लेख छ । नयाँ समझदारीले कामदारको करार अवधि दुई वर्ष तोकेको छ ।
यसअघि कामदारको करार अवधि तीन वर्ष थियो । कामदारको पारिश्रमिक प्रत्येक महिनाको ७ तारिखभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । मलेसिया सरकारले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने सुनिश्चित हुनुका साथै अतिरिक्त समयमा काम गरेबापत थप पारिश्रमिक एवं सेवासुविधा प्राप्त हुने व्यवस्था गरिएको छ ।