कांग्रेसको राष्ट्रिय जागरण शुरू


काठमाडौं, २४ भाद्र । नेपाली कांग्रेसकोे दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आजबाट शुरू भएको छ । ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा वृक्षारोपण गर्दै कांग्रेसले एकसाथ अभियान सुरु गरिने जनाएको छ । यो नेपाली काँग्रेसले हिमाल, पहाड, तराई–मधेस जागरणको दोस्रो चरणको अभियान गर्न लागेको हो

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १ सय ६औँ जन्मजयन्तीको अवसरमा देशभरि एकै पटक जागरण अभियान सुरु गर्न लागिएको हो । अभियान भदौ २४ गते सुरु भई असोज ७ सम्म चल्ने छ । जागरण अभियान अन्तर्गत पहिलो दिन ७७ जिल्लाका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा वृक्षरोपण गरिँदैछ ।

प्रत्येक निर्वाचन क्षेत्रमा एकै दिन ३४ हजार ९ सय ८० बिरुवा रोपिने कांग्रेसले जनाएको छ । जागरण अभियानका लागि कांग्रेसले यसअघि नै दुईवटा सूची जारी गरी सातवटै प्रदेशमा प्रतिनिधिहरू खटाइसकेको छ । प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइएको प्रवक्ता विश्व प्रकाश शर्माले बताए ।

जागरण अभियानका क्रममा केन्द्रीय प्रतिनिधिले सम्बन्धित क्षेत्रका अग्रज, शहीद परिवार, द्वन्द्वकालीन घाइते एवं विभिन्न आन्दोलनका घाइतेको घरमै पुगेर अवस्था बुझ्ने र कांग्रेसका लागि सुझाव लिने कार्यक्रम तय गरिएको शर्माको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार