त्रियुगा नदीले बगाउँदा बृद्धको मृत्यु


उदयपुर, १० भाद्र । उदयपुरको त्रियुगा नदीमा डुबेर सोमबार एक बृद्धको मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ का ६५ वर्षीय राजाराम विकको नदी तर्ने क्रममा त्रियुगामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आरनको काम गर्ने गरेका विक हँसिया बनाएर नजिकैको गाउँमा बेच्न गएर फर्कने क्रममा नदी तर्न नसकेर डुब्दा घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । डुबेर नदी किनारमा बेहोस अवस्थामा स्थानीयले देखेर इलाका प्रहरी कार्यालय बेल्टारलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको पाएपछि सर्जमिन मुचुल्का गरी पोेष्टमार्टम प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी हरिकृष्ण केसीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार