
भोजपुर, २ भाद्र । श्रीमानको हत्यारासँग घटना गुपचुप गर्न पैसा लिने एक महिलालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । हत्यारासँग पैसा लिएर आफ्नै श्रीमानका हत्याको घटना लुकाएको आरोपमा भोजपुर नगरपालिका ४, सिद्धेश्वर दाँवाकी मिना मिजार प्रहरीको फन्दामा परेकी हुन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा अन्य पाँच जनालाई नियन्त्रणमा लिएको छ।०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सयललाई छिमेकी मोहनबहादुर रम्तेलले स्थानीय चम्पिरा खोलाको भिरबाट धेकेलेर हत्या गरेको प्रहरीको भनाइ छ।घटनापछि हरिबहादुर लम्सालले घटना गुपचुप राख्न अभियुक्तसँग ३ लाख रुपैयाँ मागेको बयानमा उल्लेख छ। केही समयपश्चात मृतकको श्रीमती मिनाले पनि मुख्य अभियुक्त रम्तेलसँग पैसा मागेको खुलेको डीएसपी नरबहादुर सलामीमगरले बताए।घटनामा आरोपी स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र बिष्णु बयलकोटीले श्रीमती मिनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेका थिए। मुख्य अभियुक्त रम्तेलसँग मृतकका पत्नीले २ लाख रुपैयाँ नगद लिएको डीएसपी मगरको भनाइ छ।आफ्नै पतिको हत्याराबाट लिएको रकमले सदरमुकामस्थित एक सहकारी संस्थामा जम्मा गरेको खुलेको छ। सहकारीमा १ लाख ७० हजार र बाँकी ३० हजारको आफ्नी सासूलाई भैँसी किन्न दिएको मिनाले बयान दिएकी छन्। जिल्ला प्रहरीमा आएको बेनामे पत्रबाट अभियुक्तलाई पक्राउ गरिएको डीएसपी मगरले जानकारी दिए। बेना मे पत्रमा भिरबाट लडेर मरेको भनिएका पूर्णबहादुर सयललाई छिमेकी मोहनबहादुर रम्तेलले धकेली हत्या गरेको भन्ने विवरण उल्लेख थियो।
बुटवल । सवारी दुर्घटना परी सप्तरीमा मृत्यु भएका रुपन्देहीका पत्रकार डायलसन अधिकारीको दाहसंस्कार गरिएको छ । सामाजिक परम्परा अनुसार तिलोत्तमामा रहेको मगरघाटमा अधिकारीलाई उनका छोरा अदिप्सन अधिकारीले दागबत्ती दिए । अन्तिम श्रद्धाञ्जलीका लागि घाटमा प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, पर्यटनमन्त्री लिला गिरी, नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसाल, प्रदेश सांसदहरु, कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाक, विभिन्न स्थानीय सरकारका प्रमुखलगायतले अन्तिम श्रद्धान्जली दिएका थिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले उनको पार्थिव शरीरमा महासंघको झण्डा ओढाएको छ । महासंघका अध्यक्ष यानेन्द्र जिसी, केन्द्रीय सदस्य बसन्त गिरी, प्रदेश ५ कावाअध्यक्ष भरत केसी, रुपन्देही सचिव रामप्रसाद आचार्यलगायतले महासंघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए ।