
झापा । झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा कुकर बम विष्फोट भएको पाइएको छ । नेपाली सेनाको विशेषज्ञ टोलीले घटनास्थलको अनुसन्धान गरेर घरमै निर्मित कुकर बम विष्फोट गराइएको ठहर गरेको हो । घटनास्थलमा कुकर बमका टुक्रा भेटिएका थिए । बम विष्फोटमा विप्लव समूहको संलग्नता रहेको प्रारम्भिक अनुमान गरिएको छ । झापाको गरामनीमा विर्तामोड नगरपालिकाका वडा नम्बर ७, ८ र ९ को कार्यालय एउटै भवनमा छन् । उक्त भवनमा सोमबार बिहान साढे चार बजेतिर बम विष्फोट भएको थियो । विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ । घटनाबारे जानकारी पाएपछि चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । यसैगरी जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली नेतृत्वको टोली पनि भद्रपुरबाट घटनास्थल पुगेको थियो ।




















