धरान , १९ साउन । एसियाली विकास बैंकको आर्थिक सहयोगमा धरान उपमहानगरपालिकाले सुरु गरेको एक अर्ब ७७ करोड रुपैयाँको धरान खानेपानी आयोजनाको काम अलपत्र परेको छ।
चारपटक म्याद थप हुँदासमेत खानेपानी आयोजनाको काम समयमा सम्पन्न नभएपछि स्थानीय आन्दोलित भएका छन्। स्थानीयले धरान खानेपानी आयोजना निर्माणमा भएको आर्थिक अनियमितताको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। धरान उपमहानगरपालिकाका पूर्वउपमेयर कृष्णनारायण पलिखेको नेतृत्वमा आन्दोलन सुरु भएको हो।
पाँच वर्ष अगाडि निर्माण थालिएको धरान खानेपानी आयोजनाको काम सन् २०१७ सम्ममा निर्माण सम्पन्न हुनुपर्ने थियो। तर नेपाल–चीनको साझेदार ठेकेदार कम्पनी तेन्जिङ तुन्दि जेभीको चरम लापरवाहीका कारण खानेपानीे आयोजनाको काम अलपत्र अवस्थामा छ। नयाँ खरिद ऐन अनुसार ठूला आयोजनाको म्याद एक पटक मात्र थप्ने प्रावधान छ। ठेकेदारले समयमा काम नसक्दा चार पटकसम्म म्याद थप भएको छ।





















