उर्लाबारी । मोरङका एक किसानले पालेको कोरली बाछीले दुध दिन थालेको छ । नब्याई दूध दिन थालेको सो बाछीले बिहान बेलुकी गरेर ५ लिटर दुध दिंदै आएको छ ।
मोरङ उर्लाबारी–८ राजघाटका किसान देवीप्रसाद लामिछानेले पालेको बाछीले नब्याई दूध दिन थालेको हो । ४ बर्ष उमेरको सो बाछीले साढे २ बर्ष अघिबाट नै नियमित दूध दिदै आएको छ । आफैले पालेको होलस्टेन जातको गाईबाट ब्याएको सो बाछीले बिहानबेलुकी गरेर नियमित ५ लिटर दुध दिंदै आएको छ ।
होलस्टेनको बिउबाट लोकल गाईसंग क्रस गराएर नश्ल सुधारगरि जन्मिएको सो बाछी ८ महिनाकै उमेरमा अस्वाभाविक गतिविधि देखाउन थालेको गाई पालक किसान देवीप्रसाद लामिछानेले जानकारी दिनुभयो । उहांले सानै उमेरमा बाछी कराउन थालेपछि आफुले पशु चिकित्सकलाई बोलाउदा गर्भधारण गराउने उमेर नपुगेको चिकित्सकले सल्लाह दिएको लामिछानेले जानकारी दिनुभयो ।
त्यसको केहि समयपछि गाई सिकिस्त विरामी परेको र सो समयमा उपचार गराउदा केहि औषधिहरु खुवाएको लामिछानेले बताउनुभयो । औषधि खुवाएको केहिदिन पछि बाछी दूध दिने लक्षण देखिन थालेको ७९ बर्षिय किसान लामिछानेको भनाई छ । गोठमा रहेको माउ गाईसंगै कोरली बाछीले समेत नियमित दुध दिन थालेपछि घरमा हुने खपत भन्दा बढी भएको दूध लामिछाने परिवारले छरछिमेकमा बिक्री गर्दै आएका छन ।
शुरुशुरुमा कोरली बाछीले दूध दिन थालेको थाहा पाएका छरछिमेकले अचम्म मानेको देवीप्रसादकी श्रीमति नरमाया लामिछानेले बताउनुभयो । गाई विरामी हुंदा जुकाको औषधि खुवाएको र त्यसको केहिदिन पछि बाछीले दुध दिने लक्षण देखिन थालेको उहांले जानकारी दिनुभयो । गाई र बाछीको उपचार गर्दै आएका उर्लाबारीका चिकित्सले बाछी दुहन सल्लाह दिएयता नियमितरुपले दुहुंदै आएको नरमायाको भनाई छ । कोरली बाछीले दूध दिइरहेको थाहा पाएका केहि ब्यक्ती घरमै आएर बाछी किनि मागेको नरमायाले बताउनुभयो ।
प्रकृतिमा अचम्मकारुपमा हेरिने यसप्रकारका अनेकौ घटनाहरु हुने गरेको छ । नब्याई दुध दिन थालेको यो बाछीपनि त्यसैको एउटा श्रृंखलाकोरुपमा स्थानियले लिएका छन । हार्मोनको गडबडीका कारण सो गाईले दुध दिएको हुनसक्ने जानकार बताउंछन ।