
मोरङ । निरन्तरको वर्षासँगै खोलामा आएको बाढी पस्दा शुक्रबार मोरङमा साढे तीन सय बढी परिवार प्रभावित बनेका छन् । प्रहरीका अनुसार बाढी पसेर घरहरु डुबानमा परेका कारण तीन सय ६५ परिवार तत्काललाई प्रभावित बनेका छन् । उनीहरु अस्थायी रुपमा विस्थापित नै बनेका छन् । एक हजार आठ सय बढी जनसंख्या पछिल्लो बाढीका कारण प्रभावित बनेको प्रहरीको भनाइ छ । बिहीबाररातिबाटै ठाउँठाउँबाट बाँध फुटाउँदै बाढीसहितको खोलो बस्तीमा पस्दा डुबान भएर सर्वसाधारणले घर छाड्नु पर्ने अवस्था आएको हो ।
विराटनगर महानगरपालिका भित्र मात्रै एक सय भन्दा बढी परिवार विस्थापित भएका छन् । विराटनगर महानगरपालिका–६ रामपुरबाट केसलिया खोलो बाँध फुटाएर बस्तीमा छिरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । विराटनगर–१२ बखरीमा रहेको सशस्त्र प्रहरीको बिओपी पोस्ट पनि पूरै डुबेको छ । विराटनगर–६ रामपुरमा १०, विराटनगर–१२ बखरी र सिमराईमा ६० र विराटनगर–१६ दरैयामा ४० घर डुबानमा परेको खिउजुले बताए । गत असार २६ गते भएको वर्षासँगै आएको बाढीले पनि यी वडा पूरै प्रभावित बनेका थिए ।
डुबान क्षेत्रमा पुगेका प्रदेश सांसद केदार कार्कीले यस अघि नै बाँध फुटेर खोलो बस्ती पसकै ठाउँबाट फेरि पनि खोलामा आएको बाढीले बाँध फुटाएको जानकारी दिए । सबै सरोकारावाला निकायले वास्ता नगर्दा फेरि बाढी बस्ती पसेर वितण्डा मच्चाएको उनको भनाइ छ । कार्कीले भने, ‘अब तत्कालै खोलो नियन्त्रणको दीगो प्रबन्ध नमिलाए कुनै उपाय छैन । बस्ती जोगाउन मुस्किल पर्छ ।’
यस्तै चिसाङ खोलोमा आएको बाढी गाउँ पस्दा रंगेली नगरपालिका–८ मुसहर बस्तीका ५० घरपरिवार विस्थापित भएका छन् । घरघरमा पानी पसेर डुबान हुन थालेपछि स्थानीय बासिन्दा विस्थापित भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए । उता मोरङकै सुनवर्षी नगरपालिका–५ मा बक्राहा खोलाको बाढी गाउँ पस्दा ५५ परिवार प्रभावित बनेका छन् । बाढी पसेर घरहरु डुबानमा परेपछि स्थानीय विस्थापित बनेको मेयर कालीप्रसाद दासले बताए । उनले बाढीबाट स्थानीय पीडित भए पनि उद्धार र राहतमा कुनै कमजोरी हुन नदिइने बताए । त्यस्तै कटहरी गाउँपालिका–४ मा लोहन्द्रा खोलाको बाढी ‘ओभरफ्लो’ भएर गाउँ पस्दा डेढ सय परिवार विस्थापित बनेका छन् । गाउँपालिका प्रमुख रामकुमार कामतका अनुसार यस अघिकै बाढीबाट पीडित बनेकाहरु फेरि दोस्रो पटक प्रभावित बन्न पुगेका हुन् ।
यता जहदा गाउँपालिका–४ का देवानन्द साहको घरको एकातर्फको भाग बाढीले बगाएको छ । घर डुबानमा परेर पीडित भएकाको उद्धारका लागि ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीले विस्थापित भएका परिवारलाई नजिकैको विद्यालय, मन्दिर, सार्वजनिक स्थल, डुबानमा नपरेका छिमेकीको घरमा लगेर अस्थायी रुपमा सुरक्षित साथ राखिएको जनाएको छ । डुबान कम हुँदै गएपछि पीडितहरु फर्किएर घरमै बस्न सक्ने अवस्था रहने बताइएको छ ।