फिल्म चोरीको आरोपले तनावमा केकी


फिल्म ‘कोहलपुर एक्सप्रेस’ मार्फत् निर्मातासमेत बनेकी अभिनेत्री केकी अधिकारीलाई अहिलेसम्म त्यही फिल्मले तनाव दिइरहेको छ । फिल्म प्रदर्शनमा आउनुअघि दर्शकहरूले केकीबाट धेरै आशा गरेका थिए । धेरै चर्चा पनि भएको थियो तर, हलमा फिल्म प्रदर्शन भएसँगै बलिउड फिल्म ‘मुम्बई एक्सप्रेस’ को कपी–पेष्ट गरेको आरोप खेप्नुपर्यो उनले । विशाल भण्डारीले निर्देशन गरेको फिल्म चोरीको आरोप लागेपछि दर्शकहरू निराश भए । फिल्म पनि फ्लप भयो ।

फिल्मले दिएको त्यो तनाव मेट्न चाहन्छिन् केकी । केकीले दोस्रो फिल्म निर्माण गर्ने बताएकी छन् । फिल्मको नाम नाम ‘कन्याकुमारी’ जुराइएको छ । दोस्रो फिल्मलाई चोरीको आरोप लाग्न नदिन निकै मेहनत गरिरहेको उनको भनाइ छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो करिअरमा लागेको चोरीको दाग मेट्न चाहेको बताइन् । उनले भनिन्, ‘मलाई ‘चोरी’ भन्ने शब्दबाट निकै डर लाग्न थालेको छ । हुन त कोही पनि चाहँदैन जिन्दगीमा चोरीको दाग लागोस् । मैले पनि जानेर वा नजानेर गल्ती गरेँ । अब त्यो दाग मेटाउन चाहन्छु । सबैका लागि उदाहरणीय काम गर्न चाहन्छु ।’

केही चाँडै ‘कमेडी च्याम्पियन’ नामक टेलिभिजन रियालिटी शो निर्माण गर्दैछिन् । शो को निर्णायकमा कलाकार सन्तोष पन्त, हास्यकलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा रहेका छन् । कार्यक्रमको सञ्चालन अभिनेत्री रीमा विश्वकर्माले गर्नेछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार