
भोजपुर, ५ असार । जिल्ला प्रहरी कार्यालय भोजपुरले २ नाल भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले विषेश सुराकीको आधारमा भोजपुर नगरपालिका ३ गुप्तेश्वरबाट ४६ वर्षीय जीत कुमार राई ३६ वर्षीय लाल बहादुर भुजेललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय भोजपुर बाट खटेको प्रहरी टोलीले राई र भुजेलको घरमा लुकाई छिपाई लोड गरेर राखेको बन्दुक सहित उनीहरुलाई बुधबार साँझ ७ बजे घरबाटै पक्राउ गरेको हो ।
प्रहरीले राईको घरबाट भरुवा बन्दुक सहित वन्दुकमा प्रयोग हुने छर्रा १४ थान, कुरिङ्ग ढुङ्गा १० थान र प्लाष्टिकको वट्टामा २ सय ग्राम बारुद त्यसैगरी भुजेलको घरबाट पनि वन्दुक सहित छर्रा १६ थान, पटका ३ प्याकेट र वारुद २ सय ग्राम फेला पारेको छ । अवैध हतियार सहित पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत बाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीले जानकारी दिए ।





















