भाइचाराको बाटोमा अगाडि बढ्न प्रेरणा मिलोस् स् प्रधानमन्त्री ओली


काठमाडौं ४ जेठ, । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताएका छन् । २५६३औँ बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगत्को कल्याणका निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गरेका छन् ।

‘संसारमा दुःख छ र दुःख हटाउनसके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतमबुद्धले मैत्री, करुणा र अहिंसाको शिक्षा दिए’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘जातीय भेदभाव र छूवाछुत प्रथाको विरोध गरे, समनताको सिद्धान्तको प्रतिपादन गरे, त्यसैले गौतमबुद्धको शिक्षा, सिद्धान्त र दर्शनलाई सर्वत्र अनुशरण र प्रशंसा गरिन्छ ।’

बुद्धका विचार जीवनदर्शन र मानव कल्याणसँग सम्बन्धित भएकाले नै विश्वभर प्रसिद्ध र लोकप्रिय बन्न सकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघले समेत गौतमबुद्धबाट प्रतिपादित ज्ञानलाई मुख्य सिद्धान्तका रुपमा अवलम्बन गरी संसारलाई त्यसैअनुरूप शान्तिको बाटोमा डोर्होयाउन खोजेको सन्देशमा भनेका छन् ।

प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीलाई विशेष धार्मिक र पर्यटकीयस्थलका रुपमा विकास गर्न सरकार सधैं सकारात्मक रहेको भन्दै बुद्धजयन्तीको महत्वपूर्ण दिनमा सबैलाई बुद्धप्रदत्त ज्ञानलाई शिरोधार्य गरी विश्व शान्ति र भाइचाराको बाटोमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार